बालुवाटारस्थित ‘मारिया हस्पिटल’ (मारिया हेल्थ सेन्टर प्रा.लि.) अनुमति र क्लिनिकल मापदण्डविपरीत सञ्चालन भएको पाइएपछि नेपाल मेडिकल काउन्सिलले सिलबन्दी गरेको छ। काउन्सिलको स्थलगत अनुगमन टोलीले विदेशी चिकित्सकबाट अवैध रूपमा बिरामी परीक्षण गराएको भेटेपछि यो कारबाही अघि बढाएको हो।
काउन्सिलले अस्पतालमा कार्यरत तीन चिनियाँ चिकित्सक—डा. उ सिएनलिन, डा. चेन सिएलिन र डा. लिउ जिकिन—को चिकित्सक अस्थायी दर्ता तत्काल निलम्बन गरेको छ। गत १८ जेठमा बसेको काउन्सिलको पूर्ण बैठकले यो निर्णय गरेको थियो।
यी चिकित्सकहरू दर्ता नभएको मारिया हस्पिटलमा कार्यरत थिए। गत १ जेठमा काउन्सिलको अनुगमन टोलीले निरीक्षण गर्दा यो गैरकानुनी कार्य पत्ता लागेको थियो।
काउन्सिलले भिसा सर्तविपरीत अवैध संस्थामा काम गर्ने ती विदेशी चिकित्सकहरूको कार्य सहमति तत्काल रद्द गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा प्रतिवेदन पठाएको छ। उनीहरूको गैर-पर्यटकीय भिसा र श्रम इजाजत खारेजीको समेत माग गरिएको छ।
अस्पतालको बोर्डमा नाम राखी प्रचारमा संलग्न नेपाली चिकित्सकलाई काउन्सिलले व्यावसायिक आचारसंहिता उल्लंघन गरेको भन्दै तीन दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।
काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले समेत क्लिनिकल मापदण्ड विपरीत चलेको पुष्टि गरेपछि अस्पताल भौतिक रूपमा बन्द गर्न महानगरपालिकालाई अनुरोध गरिएको छ। अस्पताल सञ्चालक र दोषी पक्षमाथि कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी परिसरमा काउन्सिलले पत्राचार गरिसकेको छ।
