सरकारी निकायको खरिद प्रक्रियामा भएको ढिलाइले देशभर रेबिज खोपको चरम अभाव छ। यसले प्राणघातक रोगबाट नागरिकलाई बचाउन सरकारको क्षमतामाथि प्रश्न उठाएको छ। सरकारले हरेक वर्ष करिब ३ लाख खोप खरिद गरी सरकारी स्वास्थ्य संस्थामार्फत निःशुल्क वितरण गर्दै आएको थियो। तर, यो प्रक्रिया अवरुद्ध हुँदा नागरिक जोखिममा परेका छन्।
खरिद प्रक्रियामा ढिलाइको परिणाम
जेन–जी आन्दोलनपछि सरकारले खोप खरिद प्रक्रिया टुंग्याउन नसक्दा देशैभरका सरकारी स्वास्थ्य संस्थामा खोपको चरम अभाव छ। निजी स्वास्थ्य संस्थामा खोप उपलब्ध भए पनि चर्को मूल्य तिर्नुपर्छ। निजीमा खर्च गर्न नसक्ने नागरिकहरू खोपका लागि टाढासम्म धाउन बाध्य छन्।
गायत्री पाण्डेको व्यथा
काभ्रेपलाञ्चोककी ५५ वर्षीया गायत्री पाण्डेलाई सामुदायिक कुकुरले टोकेपछि उनी खोप लगाउन सुरुमा नजिकैको शिर मेमोरियल अस्पताल पुगेकी थिइन्। त्यहाँ खोप नपाएपछि धुलिखेलस्थित सरकारी स्वास्थ्य संस्थामा पुग्दा पनि खोप नभएको जानकारी पाइन्। जिल्लाका अन्य सरकारी स्वास्थ्य संस्थामा पनि अभाव रहेको थाहा पाएपछि उनले निजी फार्मेसीमा एक हजार रुपैयाँ तिरेर एक डोज खोप लगाइन्।
रेबिजविरुद्धको खोप २८ दिनभित्र चार पटकसम्म लगाउनुपर्छ। निजीमा प्रत्येक पटक एक हजार रुपैयाँ तिर्दा जम्मा चार हजार रुपैयाँ खर्च हुने गर्छ। सरकारी अस्पतालमा निःशुल्क पाइने सुनेपछि उनी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल आइपुगिन्। ‘दोस्रो डोज लगाउन पनि जिल्लाका सरकारी स्वास्थ्य संस्थामा पुगेकी थिएँ तर खोप कहिले आउँछ भन्ने जानकारी नै नभएको भन्दै मलाई फर्काए। त्यसपछि यहाँसम्म धाएँ,’ उनले सुनाइन्।
टेकु अस्पतालको अवस्था
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सकहरूका अनुसार दैनिक ५ सयभन्दा बढी कुकुरले टोकेका बिरामी खोपका लागि आउने गरेका छन्। सिन्धुपाल्चोक, धादिङ, काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवालगायत जिल्लाबाट समेत बिरामी आउन थालेपछि यो संख्या झनै बढेको छ।
‘कुकुरले टोके या त निजी फार्मेसीमा पैसा तिरेर खोप लगाउनुपर्ने वा हाम्रो अस्पताल नै आउनुपर्ने अवस्था छ,’ शुक्रराज अस्पतालका वरिष्ठ अहेव शंकर पाण्डेले भने, ‘हामीसँग पनि अब केही सय डोज मात्र बाँकी छन्, त्यसले धेरै दिन थेग्दैन।’
वरिष्ठ अहेव पाण्डेले निजीमा खर्च गर्न नसक्ने र टेकु धाउन नसक्नेहरू जोखिम मोलेर बसिरहेको हुन सक्ने चिन्ता व्यक्त गरे। ‘खोप अभावका कारण रेबिजबाट हुने मृत्युदर बढ्न सक्छ,’ उनले भने।
प्रदेश सरकारको प्रयास
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप उपलब्ध गराउन नसकेपछि टेकु अस्पतालले तत्काल खोप उपलब्ध गराउन आग्रह गर्दै काठमाडौं महानगरपालिकालाई पत्र लेखेको थियो। यसअघि अस्पतालले गण्डकी प्रदेश सरकारसँग खोप मागेको थियो। गण्डकी सरकारले एक हजार डोज खोप उपलब्ध गराउने वाचा गरेको थियो। बागमती प्रदेश सरकारले दिएको एक हजार डोज दुई दिनमै सकिएको थियो। अस्पताल विकास समितिमार्फत खरिद गरिएको दुई हजार डोज पनि सकिइसकेको छ। तत्काल आपूर्ति नभए कुकुरले टोकेका व्यक्तिहरू खोपबाट वञ्चित हुनेछन्।
टेकु अस्पतालले रेबिज खोपको सेवा २४ घण्टा उपलब्ध गराउँथ्यो तर अभाव बढ्दै गएपछि खोपको दोस्रो मात्रा आकस्मिक कक्षबाट दिन बन्द गरिएको छ। बिरामीहरूलाई ओपीडीको समयमा मात्रै दोस्रो डोज लगाउन भनिएको छ।
संघीय सरकारले खोप उपलब्ध गराउन नसकेपछि एक महिनाअघि बागमती प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले सात हजार डोज खोप खरिद गरेको थियो। केन्द्रमा पनि खोप सकिन लागेको छ। केन्द्रका सूचना अधिकारीले अस्पतालहरूले एक हजार डोज माग्दा ३०/४० मात्र पठाउन सकिने अवस्था रहेको बताए।
महाशाखाको खरिद असफलता
देशभरका स्वास्थ्य संस्थामा रेबिज खोप आपूर्ति गर्ने जिम्मेवारी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको हो। तर महाशाखाले यो आर्थिक वर्षमा खोप खरिद गर्न सकेको छैन। महाशाखाले खोप आपूर्ति गर्न नसकेपछि प्रदेश सरकार र स्थानीय तहलाई आफैं खोप खरिद गर्न पत्राचार गरेको थियो। त्यसपछि बागमती र गण्डकी प्रदेश सरकारले खोप खरिद गरेका थिए।
महाशाखाका एक अधिकारीले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को नेपाल कार्यालयसँग तत्काल खोप उपलब्ध गराउन अनुरोध गरिएको जानकारी दिए। ‘डब्लूएचओले ४ हजार ५ सय डोज उपलब्ध गराउने भनेको छ,’ उनले भने, ‘त्यतिले पनि धेरै दिन धान्दैन।’
खरिद प्रक्रियाको लामो यात्रा
रेबिज खोपको समस्या हुन थालेको गत मंसिरमै हो। बल्ल शुक्रबार (२९ जेठ) खोप खरिदका लागि टेन्डर आह्वान गरिँदै छ। त्यसपछि ठेकेदार छनोट हुन कम्तीमा एक महिना लाग्नेछ। छनोटमा परेका ठेकेदारले खोप ल्याउन फेरि केही समय लाग्नेछ।
खोप निःशुल्क नपाए जोखिम
टेकु अस्पतालको क्लिनिकल रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुनले खोप निःशुल्क नपाएसम्म धेरैले खोप नलगाउने जोखिम रहने बताए। रेबिज संक्रमित जनावर, विशेष गरी कुकुर र स्यालको र्यालबाट सर्ने घातक रोग हो। नेपालमा हुने अधिकांश रेबिज रोगमा कुकुरको टोकाइ नै कारक देखिएको छ। डब्लूएचओले तय गरेको लक्ष्यअनुसार नेपालले सन् २०३० सम्म कुकुरबाट सर्ने रेबिज उन्मूलन गर्ने लक्ष्य राखेको छ।
