आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा अर्थ मन्त्रालयबाट बजेट चुहावट भएको आरोप लगाउँदै पूर्वअर्थमन्त्री तथा नेकपाका सांसद वर्षमान पुनले संसदीय छानबिन समितिको माग गरेका छन्। हाउसमा टेबल भइसकेको कुरा परिवर्तन गर्ने कुरा सामान्य नभएको भन्दै उनले यसको सूक्ष्म अध्ययन आवश्यक रहेको बताए।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुरानो फाइल खोल्ने कुरा गरेको भन्दै पुनले आफू अर्थमन्त्री हुँदादेखि नै फाइल खोल्न चुनौती दिए। ‘पुरानाले गल्ती गरे भन्दैमा नयाँले पनि गल्ती गर्न पाइन्छ? खोलौँ मेरै पालादेखि नै,’ उनले भने।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदलाई हेप्ने गरी अभिव्यक्ति दिएको भन्दै छानबिनको माग गरेको छ। पुनले पुराना दलले ६७ वटा हेरफेर गरेकोमा आफूले ७ वटामा हेरफेर गरेको भन्ने अर्थमन्त्रीको भनाइप्रति आपत्ति जनाए।
मन्त्री वाग्लेले यो विषय उठाउने सांसदहरूलाई ‘पुराना काण्डको फाइल खोल्ने’ धम्की दिएको भन्दै पुनले यसलाई आपत्तिजनक भने। यसअघि लेखा समिति बैठकमा पनि पुनले अर्थमन्त्री वाग्लेले हेप्ने गरी बोलेको भन्दै ध्यानाकर्षण गराएका थिए।
