जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले मुलुकमा स्थापित हुन खोजेका वैकल्पिक राजनीतिक शक्तिहरू विचारशून्य र तर्कहीन बन्दै गएको बताएका छन्। काठमाडौंमा शनिबार नयाँ शक्तिको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
उनले नयाँ पुस्तामा विचार र सिद्धान्तभन्दा पनि ‘सेलिब्रिटी’ प्रवृत्ति र विध्वंसप्रति बढी आकर्षण रहेको औँल्याए। राजनीतिमा विचार र नैतिकताको प्रधानता हुनुपर्नेमा जोड दिँदै राउतले वर्तमान राजनीतिक अवस्थालाई ‘विचार शून्य युग’को संज्ञा दिए। सामाजिक सञ्जालमा हुने गालीगलौज र तर्कहीन बहसले लोकतन्त्रलाई कमजोर बनाइरहेको उनको तर्क छ।
राउतले संसदीय व्यवस्था र लोकतान्त्रिक मूल्य–मान्यतामा ह्रास आएको उल्लेख गरे। प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर जवाफ दिनुपर्ने अनिवार्य सर्त भए पनि सर्वसाधारणले त्यसलाई अनावश्यक ठान्ने परिस्थिति निर्माण हुनु दुःखद भएको उनले बताए।
उनले पछिल्लो समय राज्यले अवलम्बन गरेको ‘डोजर संस्कृति’को पनि आलोचना गरे। भौतिक संरचना भत्काउनुलाई विकास र शक्तिको प्रदर्शनका रूपमा बुझ्नु गलत भएको उनको भनाइ छ। पुरानो पुस्ताका नेताहरूले दशकौँ जेलनेल भोगेको र जनताको सेवामा समर्पित भएको भए पनि नयाँ पुस्ताले त्यसको मूल्याङ्कन गर्न छाडेको उनको विश्लेषण छ।
“हामीले एउटा सचेत र विचारले लैस वैकल्पिक राजनीतिक शक्तिको परिकल्पना गरेका थियौँ, तर आज त्यसको ठिक उल्टो वैचारिक शून्यता भएको शक्ति जन्मिएको छ,” राउतले भने। जमिन वा संरचना अवैध भए त्यसलाई राज्यले राष्ट्रियकरण गर्नुपर्ने तर अर्बौँको क्षति हुने गरी डोजर लगाएर भत्काउनु राष्ट्रिय सम्पत्तिको विनाश भएको उनको जिकिर छ।
प्रविधि र नयाँ जमानाको सञ्चार शैलीलाई आत्मसात् गर्न नसक्दा आफूहरू पछाडि परेको स्वीकार गर्दै उनले अब नयाँ पुस्ताको चाहनाअनुसार आफूलाई परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याए। विचार र सिद्धान्तविहीन राजनीतिले मुलुकलाई कतै नपुर्याउने भन्दै उनले राजनीतिक दलहरूमा गम्भीर समीक्षाको खाँचो रहेको बताए।
