NM Khabar 6 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

गृहमन्त्री गुरुङद्वारा झापा सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रको अनुगमन

गृहमन्त्री सुदन गुरुङले झापाको सीमा सुरक्षा व्यवस्था र जङ्गली हात्ती प्रभावित क्षेत्रको अनुगमन गरे। उनले सुरक्षा निकायका पदाधिकारीसँग छलफल गरी सीमा सुरक्षालाई प्रभावकारी बनाउन निर्देशन दिए। काँकरभिट्टा नाका, जोरसिमल चेकपोष्ट र मेची भन्सार कार्यालयको निरीक्षण गर्दै स्थानीयका समस्या सुने।
Laxmi Bhattarai
Laxmi Bhattarai
6 July 2026, 4:03 pm १ मिनेट पढाइ
आकार:
Share:

गृहमन्त्री सुदन गुरुङले झापाको सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन र जङ्गली हात्तीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन गर्न जिल्ला भ्रमण गरेका छन्।

आइतबार राति झापा आइपुगेका गुरुङले सोमबार अर्जुनधारा नगरपालिका–११ स्थित सालबारी हेरिटेज भिल्लामा जिल्ला सुरक्षा समितिका पदाधिकारीसँग भेटघाट गरे। भेटमा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, प्रहरी उपरीक्षक बसुन्धरा खड्का, सशस्त्र प्रहरी उपरीक्षक अम्बिकाप्रसाद जोशी र उपअनुसन्धान निर्देशक उमेश पाण्डे सहभागी थिए।

सुरक्षा निकायसँगको छलफलमा जिल्लाको समग्र सुरक्षा अवस्था, सीमा व्यवस्थापन, तस्कर नियन्त्रण, लागुऔषध ओसारपसार र मानव बेचबिखनलगायत समसामयिक सुरक्षा चुनौतीबारे कुराकानी भयो। गुरुङले यी विषयमा विशेष चासो व्यक्त गर्दै सुरक्षा निकायलाई आवश्यक निर्देशन दिए।

गुरुङ सोमबार बिहान सालबारीबाट मेचीनगर नगरपालिका–४ स्थित बाँहुण्डाँगीको हात्ती प्रभावित क्षेत्रतर्फ प्रस्थान गरे। सोही क्रममा उनले बुद्धशान्ति गाउँपालिका–६ सन्तपुर पुगेर जेन–जी आन्दोलनका क्रममा घाइते भएका अनिकेत चौलागाईँसँग भेटघाट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिए।

त्यसपछि गुरुङले मेचीनगर नगरपालिका–७ इट्टाभट्टास्थित सशस्त्र प्रहरी बल नेपालको जोरसिमल चेकपोष्टको निरीक्षण गरे। उनले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउन सुरक्षाकर्मीलाई निर्देशन दिए।

मेचीनगर–६ स्थित काँकरभिट्टा नाकामा पुगेर गुरुङले सीमा नाकाको समग्र सुरक्षा व्यवस्था र यात्रु जाँच कक्षको स्थलगत अनुगमन गरे। त्यसलगत्तै उनले मेची भन्सार कार्यालयको निरीक्षण गरी राजस्व सङ्कलन, भन्सार व्यवस्थापन र सीमा नाकाबाट हुने आवतजावतबारे जानकारी लिए।

झापा–भारत सीमाबाट हुने चोरी–पैठारी, लागुऔषध ओसारपसार, मानव बेचबिखन, अवैध सीमा गतिविधि तथा बाँहुण्डाँगी क्षेत्रमा वर्षौँदेखि देखिँदै आएको जङ्गली हात्तीको समस्याप्रति उनले विशेष चासो व्यक्त गरे। उनले सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि र सरोकारवालासँग छलफल गरी आवश्यक निर्देशन दिने कार्यक्रम छ।

बाँहुण्डाँगीमा गुरुङले जङ्गली हात्तीबाट प्रभावित बस्तीको स्थलगत निरीक्षण गर्दै स्थानीयवासीसँग प्रत्यक्ष सम्बाद गरी उनीहरूका समस्या, गुनासा र सुझाव सङ्कलन गर्ने कार्यक्रम छ।

गृहमन्त्रीको भ्रमणलाई मध्यनजर गर्दै झापामा सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। जिल्ला प्रहरी प्रशासनका अनुसार सुरक्षा निकाय विगत करिब ३६ घण्टादेखि उच्च सतर्कताका साथ परिचालित छन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार