NM Khabar 11 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

माइखोला बेलासेमा बेलीब्रिज सञ्चालन, मेची कोरिडोरमा यात्रा सहज

माइखोला बेलासेमा १८० फिट लामो बेलीब्रिज जडान सम्पन्न भई सवारी साधन सञ्चालनमा आएको छ। गत असोज १८ को बाढीले भत्काएको पक्की पुलको विकल्पमा यो निर्माण गरिएको हो। पुवाखोला र जोगमाई खोलामा पनि बेलीब्रिज निर्माण भइरहेको छ, तर सामग्री ढुवानीमा ढिलाइ भएको छ।
Kamala Devi
Kamala Devi
11 July 2026, 6:03 pm १ मिनेट पढाइ
आकार:
माइखोला बेलासे बेलीब्रिज
Share:

इलाम सदरमुकामबाट झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने केचना-कञ्चनजङ्गा सडक (मेची कोरिडोर) अन्तर्गत माइखोला बेलासेमा बेलीब्रिज जडान सम्पन्न भएको छ। सङ्घीय सरकारको रु एक करोड ११ लाख २८ हजार ९२३ को लागतमा बनेको यो १८० फिट लामो पुल सञ्चालनमा आएसँगै यातायात सहज भएको छ।

बिबी-मेरिस्का-मल्लिका-साइना जेभीले निर्माण गरेको यो पुल भारत सरकारको अनुदानमा भारतीय प्राविधिकले जडान गरेका हुन्। गत असोज १८ गतेको बाढीले यहाँको पक्की पुल भत्काएपछि बेलीब्रिज जडान गरिएको हो।

बेलीब्रिज सञ्चालनमा आएपछि ताप्लेजुङ र पाँचथरका बासिन्दालाई इलामको नेपालटार-मङ्गलबारे हुँदै झापा जान सहज भएको छ। मेची राजमार्गको राजदुवालीमा सडक अवरुद्ध हुँदा यात्रुले भोग्दै आएको सास्ती अन्त्य भएको छ।

मेची कोरिडोरअन्तर्गत पुवाखोलामा पनि बेलीब्रिज निर्माण भइरहेको छ। भारत सरकारबाट अनुदानस्वरुप प्राप्त सामग्री ढुवानी नहुँदा यसको जडानमा ढिलाइ भएको छ। गत वर्ष बाढीले बगाएको यो पुलका लागि सङ्घीय सरकारले रु दुई करोड २० लाख ३४ हजार २३१ विनियोजन गरेको छ।

सिमलगोला-तिल्केनी सडकअन्तर्गत जोगमाई खोलामा पनि बेलीब्रिज निर्माण सुरु भएको छ। यसको लागत रु तीन करोड ३७ लाख चार हजार १२६ छ। यहाँ पनि गतवर्ष बाढीले पुल बगाएको थियो। निर्माणाधीन पुवाखोला र जोगमाई खोलाका बेलीब्रिज २३० फिट लम्बाइ र १४ फिट चौडाइका हुनेछन्।

भारत सरकारले बेलीब्रिज निर्माण सामग्री समयमा नपठाउँदा पुवाखोला र जोगमाई खोलाको काममा ढिलाइ भएको सडक डिभिजन कार्यालयले जनाएको छ। सामग्री ढुवानी र जडानका लागि प्राविधिक टोली आएमा एक महिनाभित्र दुवै बेलीब्रिज सञ्चालनमा आउने अपेक्षा छ।

यसैबीच, माइखोला बेलासेमा पक्की पुल निर्माणका लागि ठेक्का आह्वान गरिएको छ। असार १७ गते बोलपत्र आह्वान भई साउन १७ गते खोलिने उक्त पुल ३० महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्नेछ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार