सुकुम्बासीमाथि राज्यले दुर्व्यवहार र आतङ्क मच्चाएको आरोपमा अखिल नेपाल युवक सङ्घले काठमाडौँमा प्रदर्शन गरेको छ । सङ्घले आइतबार सरकार जनविरोधी नीतिमा अघि बढेको भन्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्यो ।
प्रहरीको अमानवीय व्यवहारले गणेश नेपाली आत्मदाहको प्रयास गर्न बाध्य भएको दाबी सङ्घले गरेको छ । सङ्घले घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेको छ । सङ्घका अध्यक्ष सुवास जिसीले राज्यको व्यवहार र गणेश नेपालीलाई आत्मदाह गर्न बाध्य पारिएको कारण प्रदर्शनमा उत्रिएको बताए ।
‘सुकुम्बासीमाथि राज्यद्वारा दुर्व्यवहार र आतङ्क गर्नेविरुद्ध हामी आन्दोलनमा छौँ,’ जिसीले भने, ‘प्रहरीको अमानवीय व्यवहारले गणेश नेपालीले आत्मदाह गर्ने स्थिति सिर्जना भयो । यी दुई विषयमा हामी आन्दोलित छौँ ।’
सुकुम्बासीको उचित व्यवस्थापनको माग गर्दै माइतीघरमा लामो समयदेखि आन्दोलन भइरहेको छ ।
