मानव सभ्यता इतिहासकै सबैभन्दा जटिल मोडमा छ। सन् १९६० को दशकका वैज्ञानिकले मान्छे जस्तै सोच्ने सुपर इन्टेलिजेन्सको परिकल्पना गरेका थिए।
तर, प्रविधिको विकाससँगै हामीले एआईलाई केवल सूचना प्रविधिको औजारका रूपमा बुझ्यौँ। यसले हाम्रो काम सजिलो बनाउँछ भन्ने बुझाइले नेपालमा एआईको प्रयोग व्यापक बनायो। तर, यसको सचेत प्रयोग र जोखिमबारे खासै छलफल छैन।
एआईले मानिसको सोच्ने क्षमता कमजोर बनाउने र गोपनीयतामाथि खतरा निम्त्याउने चिन्ता विज्ञहरूले व्यक्त गरेका छन्। यसको अव्यवस्थित प्रयोगले भविष्यमा ठूलै समस्या ल्याउन सक्ने उनीहरूको भनाइ छ।
प्रविधिको विकासलाई आत्मसात् गर्दागर्दै पनि प्रयोगमा सन्तुलन आवश्यक छ। एआईले मानव क्षमतालाई प्रतिस्थापन होइन, बढावा दिनुपर्छ।
हालसम्म नेपालमा एआई प्रयोगबारे स्पष्ट नीति वा नियमन नहुँदा दुरुपयोगको सम्भावना बढेको छ। यसले व्यक्तिगत र संस्थागत गोपनीयतामाथि गम्भीर प्रश्नचिह्न खडा भएको छ। सरोकारवाला निकायले तत्काल ध्यान दिनुपर्ने देखिन्छ।
