कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आएको बाढीले मोदी खोलाको पानीको सतह बढाउँदा नदी किनारका दुई घरमा क्षति पुगेको छ। बाढीले अन्नपूर्ण गाउँपालिका–८ र १० को सीमाना स्याउलीबजारमा रहेको दीलिप गुरुङको घर र होटल पूर्ण रुपमा बगाएको छ।
स्थानीय जगन पुनको रेष्टुरेन्टमा पनि क्षति पुगेको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए। मोदी खोलाको कटानले नयाँपुल–घान्द्रुक सडक पूर्ण रुपमा बन्द भएको छ।
बाढीले किम्रुङ खोलामाथिको झोलुङ्गे पुल पनि बगाएको छ। अन्नपूर्ण पदमार्गमा पर्ने यो पुल बगेपछि स्थानीय बासिन्दा र पर्यटकको आवतजावत प्रभावित भएको छ। लेदोसहितको बाढीले मोदी खोलामा पानीको सतह बढेर क्षति पुर्याएको हो।
नदीको माथिल्लो क्षेत्रमा पहिरो खसेर नदी थुनिएपछि एक्कासी खुलेको बाढीले यो क्षति पुर्याएको अनुमान छ। स्थानीय प्रशासन र गाउँपालिकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ। मोदीखोला आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन र नदी किनारमा नजान आग्रह गरिएको छ।
घटनास्थलमा गाउँपालिका अध्यक्ष केसी, वडा नम्बर ११ का अध्यक्ष हिमबहादुर गुरुङ, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को टोली पुगेर क्षतिको विवरण संकलन र व्यवस्थापनमा जुटेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए।
