नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र व्यवसायी दीपक आनन्दलाई विशेष अदालतले घुस मुद्दामा दोषी ठहर गर्दै जनही आठ वर्ष कैद सजाय सुनाएको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले बिहीबार कसुरदार ठहर गर्दै उक्त सजाय तोकेको हो।
अदालतले पौडेललाई नेपाल सरकारको विशिष्ट श्रेणीको पदमा बसेर भ्रष्टाचार गरेको कसुरमा थप ६ महिना कैद सजाय समेत सुनाएको छ। पौडेलले व्यवसायी आनन्दसँग घुस मागेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अदालतले यो फैसला गरेको हो।
घुस लेनदेन भएको भनिएको तीन करोड आठ लाख रुपैयाँ बरामद नभएका कारण अदालतले यस मुद्दामा बिगो कायम गरेको छैन। यद्यपि, सो रकमलाई दामासाही भाग लगाई दुवै अभियुक्तबाट जनही एक करोड ५४ लाख रुपैयाँका दरले जरिवाना असुलउपर गर्ने फैसला भएको छ।
