NM Khabar 25 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सत्ता साझेदार दलबीच प्रदेश सरकार सञ्चालनमा समस्या: विश्वप्रकाश शर्मा

कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सत्ता साझेदार दलहरूबीच प्रदेश सरकार सञ्चालनमा समस्या रहेको बताएका छन्। उनले आवश्यक परे कांग्रेस प्रतिपक्षमा बस्न पनि तयार रहेको स्पष्ट पारे।
Laxmi Bhattarai
Laxmi Bhattarai
20 July 2026, 5:02 pm १ मिनेट पढाइ
आकार:
प्रदेश सरकार समस्या
Share:

कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सत्ता साझेदार दलहरूबीच प्रदेश सरकार सञ्चालनमा समस्या देखिएको बताएका छन्। बीपी स्मृति दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै शर्माले सरकारहरू कसरी चल्छन् भन्ने विषयमा आन्तरिक संवाद जारी रहेको उल्लेख गरे। उनले आवश्यक परे कांग्रेस प्रतिपक्षमा बस्न पनि तयार रहेको स्पष्ट पारे।

“प्रदेशगत सरकारहरूको बारेमा केही समस्या देखिएको छ। सरकारमा रहेका दलहरूको बीचमा केही समस्याहरू उब्जिएका छन्,” शर्माले भने, “अब प्रदेश सरकारहरू कसरी चल्छन् या कसरी नयाँ बन्छन् भन्ने विषयमा सार्वजनिक रूपमा धेरै टिप्पणी गरिरहनुभन्दा पनि आन्तरिक रूपमा अभ्यासहरू र संवादहरू भइरहेका छन्।”

शर्माले कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्न नहुने धारणा राखे। संविधानको मूल मर्मलाई जोगाउनुपर्नेमा उनले जोड दिए। “कुनैपनि प्रदेश सभा प्रतिपक्षविहीन बन्नु हुँदैन,” शर्माले भने, “वर्तमान संविधान निर्माण गर्दैगर्दा महत्वपूर्ण भूमिका निर्वाह गरेका दलहरूले आजको प्रतिकूल परिस्थितिमा संविधान संशोधनको छलफल पनि चलिरहेको बेलामा त्यसको मूल मर्मलाई भंग गर्न मिल्दैन।”

उनले प्रदेशगत सरकारहरूको सन्दर्भमा उब्जिएका प्रश्नहरूको समस्याको चुरो संविधानको मर्मसँग जोडिएको बताए। आवश्यक परेको खण्डमा कांग्रेस प्रतिपक्षमा बस्न तत्पर रहेको उनको भनाइ थियो। तर नागरिकको अभिमतभन्दा बाहिर गएर सबै दल एउटै सरकारमा बस्नुपर्छ भन्ने मान्यता कांग्रेसले नराख्ने शर्माले स्पष्ट पारे।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार