विपद्को पूर्वचेतावनी अब मोबाइलमै बज्ने साइरनजस्तो ध्वनिले दिनेछ। सरकारले ‘सेल ब्रोडकास्ट’ प्रणालीमार्फत जोखिम क्षेत्रका सबै नागरिकको फोनमा एकैसाथ चेतावनी सन्देश पठाउने तयारी थालेको छ। यसका लागि ४० करोडदेखि ७५ करोड रुपैयाँसम्म लागत लाग्ने प्रारम्भिक अनुमान छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख प्रदीपकुमार कोइराला र गृह मन्त्रालयका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख सुरेश पन्थीबीच भएको छलफलमा यो प्रणाली लागू गर्ने विषयमा तयारी भएको हो। छलफलमा सङ्घीय मन्त्रालय र सरोकार भएका निकायका प्रतिनिधि सहभागी थिए।
प्राधिकरणका अनुसार यो प्रणाली एकीकृत पूर्वसूचना प्रणालीको एक महत्वपूर्ण अङ्ग हो। यसले मोबाइल सञ्चारको ‘रेडियो एक्सेस नेटवर्क’ प्रयोग गरी काम गर्नेछ।
हाल प्रयोगमा रहेको टोल-फ्री र एसएमएस प्रणालीमा सन्देश ढिलो पुग्ने, प्रयोगकर्ताले नहेर्ने वा डेलिभरी हुन घण्टौँ लाग्ने समस्या छ। जल तथा मौसम विज्ञान विभागका बाढीविद् विनोद पराजुलीले सेल ब्रोडकास्ट लागू भएपछि यो समस्या समाधान हुने बताए।
“सेल ब्रोडकास्ट प्रणालीले जोखिम क्षेत्रका सबै नागरिकको मोबाइलमा एकसाथ चेतावनी सन्देश पुर्याउँछ,” पराजुलीले भने, “विशेष ध्वनिले प्रयोगकर्ताको ध्यानाकर्षण गराउँछ। यसले रातिको समयमा नागरिकलाई समयमै सचेत गराउन मद्दत पुग्छ।”
यो प्रणालीबाट लाखौँ नागरिकलाई एकैपटक सूचना प्रवाह गर्न सकिनेछ। बाढीपहिरो मात्र नभई अन्य प्राकृतिक तथा मानवीय विपद्का बेला पनि यही प्रणालीमार्फत पूर्वचेतावनी पठाउने योजना छ।
गतवर्षदेखि यस प्रणालीको सम्भाव्यता अध्ययन भइरहेको थियो। यस विषयमा सम्बन्धित सरकारी निकायबीच आवश्यक समन्वय र थप प्राविधिक छलफल भइरहेको छ।
