NM Khabar 23 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

भारतीय जेलमा परेका नेपाली किसानको शीघ्र रिहाइको माग गर्दै कांग्रेसले गर्‍यो पहल

नेपाली कांग्रेसले भारतीय जेलमा रहेका सर्लाहीका दुई किसानको तत्काल रिहाइको माग गरेको छ। किसानहरू मल खरिद गर्न सीमावर्ती भारतीय बजार जाँदा पक्राउ परेका थिए। कांग्रेसले नेपाल सरकारलाई कूटनीतिक पहल गर्न र भारत सरकारलाई मानवीय आधारमा रिहाइ गर्न आग्रह गरेको छ।
Bikram Magar
Bikram Magar
23 July 2026, 8:34 pm १ मिनेट पढाइ
आकार:
नेपाली किसान भारतीय जेल
Share:

भारतीय जेलमा थुनािएका सर्लाहीका दुई नेपाली किसानको अविलम्ब रिहाइको माग गर्दै नेपाली कांग्रेसले सरकारसँग तत्काल कूटनीतिक पहलको आग्रह गरेको छ। रासायनिक मल खरिद गर्न सीमावर्ती भारतीय बजार पुगेका किसान पक्राउ परेको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।

कांग्रेसका अनुसार सर्लाहीको बलरा नगरपालिकाका सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह विगत २० दिनदेखि भारतको बिहार राज्यस्थित सीतामढीको डुमरा जेलमा थुनािएका छन्। समयमै रासायनिक मल नपाएपछि उनीहरू सीमावर्ती भारतीय बजार सोनवरसाबाट दुई बोरा युरिया र डीएपी मल खरिद गरी फर्किने क्रममा भारतीय सुरक्षा निकायले पक्राउ गरेको थियो।

पार्टीले किसानहरू आफ्नै खेतीका लागि आवश्यक मल लिन गएको अवस्थामा पक्राउ पर्नु दुःखद र विडम्बनापूर्ण भएको ठहर गरेको छ। मलको अभावले किसानले भोग्नुपरेको समस्याप्रति सरकार गम्भीर हुनुपर्ने कांग्रेसको भनाइ छ।

कांग्रेसले नेपाल सरकारलाई किसानहरूको रिहाइका लागि कूटनीतिक, कानुनी र व्यवहारिक पहल तत्काल अघि बढाउन आग्रह गरेको छ। साथै, भारत सरकारसँग नेपाल–भारतबीचको ऐतिहासिक मित्रता, खुला सीमा र दुई देशका नागरिकबीचको आत्मीय सम्बन्धलाई सम्मान गर्दै मानवीय आधारमा उनीहरूको अविलम्ब रिहाइ गर्न अनुरोध गरेको छ।

दुई देशबीचको सम्बन्ध सरकार–सरकारमा मात्र सीमित नभई जनस्तरको ऐतिहासिक, सांस्कृतिक र सामाजिक सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै कांग्रेसले यस्ता संवेदनशील विषयलाई सोही भावनाअनुसार समाधान गर्न दुवै सरकारसँग आग्रह गरेको छ।

Bikram Magar

Bikram Magar

संवाददाता · NM Khabar

विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्‍याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।

सम्बन्धित समाचार