तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ।
प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेका अनुसार ४५ वर्षीया रश्मि रिजालको शव कारको पछाडिको सिटमा भेटिएको हो। उनी तारकेश्वर–९ की बासिन्दा हुन्।
रिजाल शुक्रबार कार्यालय जान्छु भनी घरबाट निस्केकी थिइन्। कार्यालय नपुगेपछि परिवारले हिजै प्रहरीमा खोजीका लागि निवेदन दिएका थिए।
खोजी गर्ने क्रममा शनिबार कारभित्र उनको जलेको शव फेला परेको हो। प्रहरीका अनुसार कारको भित्री भाग धेरै जलेको छ। निस्सासिएर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
प्रहरीले शवलाई शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि पठाएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।
