NM Khabar 31 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

देवानगञ्ज घटना: नागरिक समाजको स्वतन्त्र छानबिन माग, कोशी प्रदेशमा राहत घोषणा

सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको हिंसात्मक घटनाको स्वतन्त्र छानबिनको माग गरिएको छ। घटनाको पृष्ठभूमिमा डिजे विवादसँगै झण्डा विवाद रहेको स्थानीयको भनाइ छ। कोशी प्रदेश सरकारले मृतकका परिवारलाई २ लाख र घाइतेलाई ५० हजार रुपैयाँ राहत घोषणा गरेको छ।
Kamala Devi
Kamala Devi
30 July 2026, 5:32 am १ मिनेट पढाइ
आकार:
देवानगञ्ज घटना
Share:

सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको हिंसात्मक घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गर्न नागरिक समाज र मानवअधिकार समुदायका २६ जना प्रतिनिधिले सरकारसँग माग गरेका छन्। बुधबार जारी संयुक्त विज्ञप्तिमा सुरक्षाकर्मीको गोली लागि मृत्यु भएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ। घाइतेहरूको निःशुल्क उपचार, पीडित परिवारलाई राहत, क्षतिपूर्ति र न्याय सुनिश्चित गर्न आग्रह गरिएको छ।

विज्ञप्तिमा भिड नियन्त्रणका क्रममा सुरक्षाकर्मीले संयम नअपनाएको र घातक गोली चलाइएको भन्दै चिन्ता व्यक्त गरिएको छ। हस्ताक्षरकर्ताहरूले प्रशासनिक छानबिन समिति पर्याप्त नभएको उल्लेख गर्दै स्वतन्त्र आयोग गठनको माग गरेका छन्। उनीहरूले अन्तरसामुदायिक सद्भाव कायम राख्न सबै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन्। सरकारले दीर्घकालीन शान्ति, सुरक्षा र सामाजिक सद्भाव प्रवर्द्धनका लागि प्रभावकारी कदम चाल्नुपर्ने उनीहरूको भनाइ छ।

घटनाको प्रारम्भ साउने सोमबार शिवमन्दिरमा जल चढाउन कोशी नदीबाट जल ल्याउने तयारीका क्रममा भएको थियो। आइतबार राति भेला भएका युवाले डिजे बजाएको विषयलाई लिएर दुई समुदायबीच विवाद सुरु भयो। विवाद चर्किँदा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरियो। दुई पक्षबीच झडप उग्र बनेपछि प्रहरीमाथि ढुंगामुढा भयो। प्रहरीले हवाई फायर गर्‍यो। रातिको समय र विद्युत् आपूर्ति अवरुद्ध भएकाले घटनास्थल अन्धकारमय थियो। गोली लागेर केही युवा ढलेपछि भागदौड मच्चियो। उपचारका क्रममा एक जनाको मृत्यु भएको पुष्टि भयो।

घटना सतहमा डिजे बजाएको विषयबाट सुरु भएको देखिए पनि स्थानीयका अनुसार यसको पृष्ठभूमिमा झण्डा विवाद थियो। मुस्लिम समुदायले मोहरम पर्वका क्रममा राखेको झण्डा धार्मिक कार्यक्रम सकिएपछि हटाउन हिन्दु समुदायले आग्रह गरेको थियो। वडाध्यक्षसहित स्थानीय जनप्रतिनिधिलाई जानकारी गराइए पनि झण्डा हटाउने विषयमा चासो दिइएन। झण्डा हटाउने र नरहटाउने विषयले दुई समुदायबीच सातादेखि असन्तुष्टि बढाइरहेको थियो।

प्रहरी प्रशासन र स्थानीय सरकारलाई विवादबारे जानकारी हुँदाहुँदै पनि समयमै समाधानको पहल नहुँदा परिस्थिति नियन्त्रणबाहिर पुगेको स्थानीयको भनाइ छ। आइतबार राति प्रदर्शन उग्र बनेपछि प्रहरीमाथि ढुंगामुढा भयो। त्यसपछि स्थिति नियन्त्रणका लागि सशस्त्र प्रहरीले गोली चलाएको बताइएको छ। स्थानीयको दाबी अनुसार कम्मरमाथि गोली लागेका कारण एक जनाको मृत्यु भयो र अन्य घाइते भए।

यसअघि पनि यस्ता विवादहरू सर्वपक्षीय छलफलमार्फत समाधान हुँदै आएका थिए। यसपटक प्रारम्भिक चरणमै प्रभावकारी पहल नहुँदा सानो विवादले ठूलो दुर्घटनाको रूप लियो।

देवानगञ्ज घटनापछि सुरु भएको विरोध प्रदर्शन सुनसरीबाट फैलिँदै कोशी प्रदेशको राजधानी विराटनगरसम्म पुग्यो। मंगलबार विराटनगर दिनभर प्रभावित रह्यो। बुधबार मोरङको रंगेली बजार स्थानीय युवाले बन्द गराए। विराटनगरका शैक्षिक संस्था दुवै दिन बन्द गरिए। घटनामा संलग्नलाई पक्राउ नगरी छानबिन समिति गठन गरेको भन्दै स्थानीयले असन्तुष्टि जनाए। उनीहरूले घटनामा संलग्नलाई पक्राउ गरी कारबाहीको माग गर्दै बुधबार देवानगञ्जमा प्रदर्शन गरे।

झडपमा घाइते भएकाहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। न्युरो अस्पतालमा ९ जना भर्ना भएका थिए, जसमध्ये एक जनाको मृत्यु भयो। बाँकी ८ जनाको उपचार जारी छ। विराट नर्सिङ होममा ४ जना, नोबेल मेडिकल कलेजमा २ जना, विराट टिचिङ अस्पतालमा २ जना भर्ना भएका थिए। एक जना उपचारपछि घर फर्किए। मोरङ प्रहरीका अनुसार श्री अस्पतालमा १ जना, गोल्डेन अस्पतालमा २ जना तथा प्राइम अस्पतालमा २ जना घाइतेको उपचार भइरहेको छ। गोली लागेका तीन जनाको शल्यक्रियापछि स्वास्थ्यमा सुधार हुँदै आएको छ।

कोशी प्रदेश सरकारले देवानगञ्ज घटनामा मृत्यु भएका, घाइते भएका तथा आगजनी र तोडफोडबाट क्षति बेहोरेका परिवारलाई राहत दिने घोषणा गरेको छ। मृतकका परिवारलाई २ लाख रुपैयाँ र घाइते तथा क्षति बेहोरेका परिवारलाई जनही ५० हजार रुपैयाँ राहत दिने निर्णय भएको छ। बुधबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा राहत घोषणा गरियो। बैठकले सामाजिक सद्भाव र शान्ति सुरक्षा सुदृढ बनाउन आठबुँदे निर्णय पनि गर्‍यो।

निर्णयअनुसार सामाजिक सद्भाव र साम्प्रदायिक एकता कायम गर्न राजनीतिक, सामाजिक र प्रशासनिक पक्षबीच समन्वय गरिनेछ। पालिका तहमा सर्वदलीय बैठक आयोजना गरी सद्भाव अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिनेछ। स्थानीय प्रशासनसँग समन्वय गरेर सद्भाव यात्रा, सार्वजनिक अपिल तथा मेलमिलापका कार्यक्रम सञ्चालन गरिनेछ। सबै धार्मिक समुदायका संघसंस्थाले संयुक्त अपिल जारी गरी सामाजिक सद्भाव कायम गर्न भूमिका खेल्नेछन्। सीमा क्षेत्रबाट हुन सक्ने अवाञ्छित गतिविधिप्रति सुरक्षा सतर्कता अपनाइनेछ। घाइतेको उपचार र मृतकका परिवारलाई राहत उपलब्ध गराउन संघीय सरकारसँग अनुरोध गरिनेछ। प्रभावित जिल्ला तथा आसपासका क्षेत्रमा यस्ता घटना पुनः नदोहोरिने गरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरिनेछ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार