राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि रौतहटको गढीमाई नगरपालिकामा भएको अपमानजनक व्यवहारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। साउन ७ गते पर्सा रामजानकी मठ परिसरमा जनताको गुनासो सुनिरहेका पौडेलमाथि केही व्यक्तिले कार्यक्रम स्थलमा प्रवेश गरी कालोमोसो फ्याँकेका थिए।
घटनामा संलग्नले ‘मधेश मुक्ति अभियान जिन्दाबाद’ लेखिएका पर्चा प्रदर्शन गरेका थिए। जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले अनुसन्धान थालेको थियो।
प्रहरीले गढीमाई–३ घर भई हाल वडा नं. ७ धनाडी बस्ने २० वर्षीय शेख इर्फान र गढीमाई–३ गम्हरियाका १९ वर्षीय इर्फान अन्सारीलाई साउन १३ गते पक्राउ गरेको छ। दुवैविरुद्ध अपमानजनक तथा अमानवीय व्यवहार कसुरमा अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
प्रहरी प्रवक्ता डिएसपी वसन्त गौतमले फरार अन्य व्यक्तिको खोजी जारी रहेको बताए। जनप्रतिनिधिमाथिको दुर्व्यवहारमा दोषीमाथि कारबाहीको माग उठेको छ। सांसद पौडेलले इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएका थिए। रास्वपा रौतहटले प्रहरीलाई २४ घण्टाभित्र अपराधी पक्राउ गर्न अल्टिमेटम दिएको थियो।
