विराटनगरस्थित व्यवसायी गोपाल मुदण्डाको घरमा भएको प्रहरी छापाबारे प्रहरी प्रधान कार्यालयले सूचना भेरिफाइमा कमजोरी भएको स्वीकार गरेको छ।
शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेले सूचना विश्लेषण र भेरिफाइ प्रक्रियामा कमी रहेको बताए।
‘सूचना आएपछि त्यसको विश्लेषण र भेरिफाइमा जति काम हुनुपर्ने हो त्यो भएको देखिँदैन,’ प्रवक्ता काफ्लेले भने।
यस घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटवाललाई स्पष्टीकरण सोधिएको छ।
व्यवसायी मुदण्डाको घरमा छापा हान्नुको कारणसहित लिखित जवाफ पेस गर्न उनलाई निर्देशन दिइएको थियो।
