तेह्रथुम जिल्ला अस्पतालमा आवश्यक जनशक्तिको अभावले शल्यक्रियामार्फत गराइने प्रसूति सेवा असार मसान्तदेखि पूर्ण रूपमा ठप्प भएको छ। सेवा रोकिएपछि जटिल प्रकृतिका गर्भवतीहरूलाई ५ देखि ६ घण्टाको जोखिमपूर्ण यात्रा गरेर धरान र विराटनगरका अस्पतालहरूमा जान बाध्य भएका छन्।
म्याङलुङ नगरपालिका–४ पिप्लेकी निर्मला श्रेष्ठलाई प्रसूति व्यथा लागेपछि जिल्ला अस्पताल पुर्याइएको थियो। शल्यक्रिया सम्भव नभएपछि उनलाई १० हजार रुपैयाँमा गाडी रिजर्भ गरेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। फेदाप गाउँपालिका–१ सिम्लेकी फूलमाया कार्कीले पनि स्थानीयस्तरमा सुविधा नहुँदा तराईका गर्मी ठाउँमा महँगो खर्च गरेर उपचार गराउनुपरेको गुनासो गरिन्।
अस्पताल प्रशासनका अनुसार विगत १० वर्षदेखि ‘निक साइमन’ नामक गैरसरकारी संस्थाको सहयोगमा एमडिजिपी चिकित्सक, मेडिकल अधिकृत, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, बायोमेडिकल टेक्निसियन र एनेस्थेसिया असिस्टेन्ट गरी छ जना जनशक्ति व्यवस्थापन हुँदै आएको थियो। उक्त संस्थाको परियोजना असार मसान्तमा समाप्त भएपछि अस्पताल जनशक्तिविहीन बनेको सूचना अधिकारी महेन्द्रकुमारी खड्काले बताइन्।
सामान्य अवस्थामा महिनामा ३० देखि ३५ जनाले प्रसूति सेवा लिने गरेकोमा सेवा ठप्प भएपछि चालु महिनामा हालसम्म ६ जनाले मात्रै प्रसूति सेवा लिएका छन्। आर्थिक वर्ष २०८२/८३ मा ४४ जनाको शल्यक्रियामार्फत प्रसूति गराएको अस्पतालले हाल प्राकृतिक रूपमा सम्भव नहुने र विगतमा शल्यक्रिया भइसकेका गर्भवतीलाई बाहिर रेफर गरिरहेको मेडिकल सुपरिटेन्डेन्ट डा. खड्गलाल पयाङ्गु लिम्बूले जानकारी दिए।
सिजेरियन सेवा पुनः सञ्चालनका लागि एमडिजिपी चिकित्सक उपलब्ध गराउन प्रदेश स्वास्थ्य मन्त्रालयसँग माग गरिएको छ। एनेस्थेसिया जनशक्ति अस्पताल विकास कोषबाटै व्यवस्थापन गर्ने तयारी भइरहेको डा. लिम्बूले बताए। यस अस्पतालबाट तेह्रथुमका साथै छिमेकी जिल्ला सङ्खुवासभाको मादी र मूलखर्क लगायत क्षेत्रका सेवाग्राहीसमेत लाभान्वित हुँदै आएका थिए।
