सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर गरिएका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई विशेष अदालतले एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ। मंगलबार विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य, सदस्यद्वय हेमन्त रावल र विदुर कोइरालाको संयुक्त इजलासमा बयान र थुनछेक बहस सकिएपछि धरौटी माग गर्ने आदेश आएको हो।
यसअघि जिल्ला अदालत काठमाडौंले पनि गोल्छासँग बीमासम्बन्धी कसुरमा ७५ लाख रुपैयाँ र धितोपत्रसम्बन्धी कसुरमा २५ लाख रुपैयाँ गरी कुल एक करोड रुपैयाँ धरौटी मागेको थियो।
गोल्छा जोडिएको यस मुद्दामा दीपक भट्ट, शुलभ अग्रवालसहित ३४ जना व्यक्ति र ५ वटा कम्पनीलाई प्रतिवादी बनाइएको छ। सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत दायर गरिएको यस मुद्दामा गोल्छाविरुद्ध ५२ करोड ५० लाख रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ।
भट्टमाथि २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा र अग्रवालमाथि २५ अर्ब ५९ करोड २० लाख ६ हजार १ सय २४ रुपैयाँ ३१ पैसा बराबरको बिगो दाबी गरिएको छ। गोल्छा अदालतले मागेको धरौटी रकम बुझाएर तारेखमा बस्ने तयारीमा छन्।
