जनकपुरधाम । मधेस प्रदेशमा रगतको चरम अभाव छ। दैनिक ४० देखि ५० जना बिरामी रगतका लागि रक्तसञ्चार केन्द्रमा आउने गरेका छन्। रित्तो हात फर्कने बिरामीको संख्या बढ्दो छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जनकपुरधाम उपमहानगरपालिका वडा नं १७ ले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्यो। १९ जनाले रक्तदान गरे। रगत अभावमा कसैको ज्यान नजाओस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको रास्वपा मधेस प्रदेश सङ्गठन विभाग उपप्रमुख अम्बुप्रसाद साहले बताए। सङ्कलित रगत प्रदेश रक्तसञ्चार केन्द्रमा बुझाइनेछ।
नेपाल रेडक्रस सोसाइटी धनुषाका अध्यक्ष पङ्कज महतोले एक सातादेखि रक्तसञ्चार केन्द्रमा रगतको चरम अभाव रहेको बताए। ‘केन्द्रमा एक/दुई पोका मात्र रगत छ,’ उनले भने, ‘दैनिक ४०/५० बिरामी आउँछन्। रगत नभएपछि समस्या भइरहेको छ।’
रक्तदाताको अभावले प्रदेश रक्तसञ्चार केन्द्रमा रगतको मौज्दात ३० पोका मात्र छ। मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका निर्देशक डा. नागेन्द्र यादवले यो जानकारी दिए। रक्तदान गरेपछि कमजोर भइन्छ भन्ने नकारात्मक सोचले दाता पाइन छोडेको छ।
