सुदूरपश्चिम प्रदेशमा नेकपा र नेकपा एमालेको समर्थनमा खगराज भट्ट मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई आजै पद तथा गोपनीयताको सपथ खुवाउने तयारी गरेका छन्।
मुख्यमन्त्रीको सपथसँगै सानो मन्त्रिमण्डल गठन गरिनेछ। नेकपाले चार र नेकपा एमालेले तीन मन्त्रालय पाउने सहमति भएको Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार राजीनामा दिएका थिए। प्रदेश प्रमुख मियाँले शुक्रबार बिहान ११ बजेसम्म मुख्यमन्त्रीको दाबी पेस गर्न आह्वान गरेका थिए।
यसअघि कांग्रेस र एमालेबीच बजेट विवादले गठबन्धन टुटेको थियो। असार ३१ गते मुख्यमन्त्रीले एमालेका चार मन्त्री बर्खास्त गर्दा एमालेले समर्थन फिर्ता लिएको थियो।
५३ सदस्यीय प्रदेश सभामा नेकपाका २२, कांग्रेसका १८, एमालेका ११ र राप्रपाका एक सदस्य छन्। नेकपाका दीर्घबहादुर सोडारी निलम्बित छन्। कांग्रेसका प्रकाशबहादुर देउवा अमेरिकामा छन्। डडेल्धुराबाट स्वतन्त्र निर्वाचित डा. तारा जोशीले राजीनामा दिएकाले एक सिट रिक्त छ।
सरकार गठनका लागि २७ सांसदको समर्थन चाहिन्छ। नेकपा र एमालेसँग हाल ३२ सांसदको समर्थन छ।
