मोरङको मुख्य औद्योगिक कोरिडोरमा पर्ने हुलाकी राजमार्गको हाटखोला–कटहरी खण्ड निर्माणमा भएको ढिलाइले उद्योग र सर्वसाधारण चरम सास्तीमा परेका छन्। नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशले तत्काल निर्माण सम्पन्न गर्न माग गरेको छ।
परिसंघले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्रमा करिब ६–७ किलोमिटर सडक खण्ड अलपत्र परेको उल्लेख छ। यसले उद्योग र सर्वसाधारणलाई सास्ती दिएको छ।
परिसंघका अध्यक्ष पवन कुमार सारडाले बुझाएको पत्रमा २०७६ सालमा ठेक्का सम्झौता भएको सडक निर्माण कार्य शून्यप्रायः रहेको छ। राष्ट्रिय गौरवको आयोजनाको यो खण्डको नाजुक अवस्थाले मोरङको औद्योगिक वातावरणमा गम्भीर असर पारेको छ।
सडकका खाडल र दलदलले कच्चा पदार्थ र तयारी सामान बोकेका ट्रक दैनिक पल्टिन्छन्। यसले लाखौँको सामान नष्ट गर्छ। आपूर्ति शृङ्खला ठप्प छ।
विराटनगर र कटहरी जोड्ने ५० वर्ष पुरानो सिंघिया नदीको पुल जीर्ण छ। कुनै पनि बेला भत्किन सक्ने यो पुलबाट हाल एकतर्फी मात्र सवारी चल्छ। पुल भत्किए औद्योगिक कोरिडोरको आवागमन ठप्प हुनेछ। परिसंघले नयाँ पुल वा ‘रेट्रोफिटिङ’ माग गरेको छ।
हिउँदमा धुलो र वर्षामा हिलोले स्थानीयलाई आवतजावतमा कठिनाइ छ। बालबालिका समयमा विद्यालय पुग्न सक्दैनन्। सर्वसाधारणको स्वास्थ्य जोखिममा छ।
ढुवानी लागत दोब्बर भएको छ। सामान समयमा बजार पुग्दैन। कच्चा पदार्थको अभावले उत्पादकत्व खस्किएको छ। यसको असर राष्ट्रिय अर्थतन्त्र र राजस्वमा परेको छ।
परिसंघले पटक–पटक भएका प्रतिबद्धता उल्लंघन भएको भन्दै ‘युद्धस्तर’मा सडक निर्माण अगाडि बढाउन माग गरेको छ। पत्रको बोधार्थ कोशी मुख्यमन्त्री, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक र मोरङका प्रमुख जिल्ला अधिकारीलाई दिइएको छ।
