कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुँइमा भारतीय सीमा सुरक्षा बलले दशगजा क्षेत्रको दाबी गर्दै हुलाकी सडकको एक हजार ४०० मिटर खण्ड निर्माणमा अवरोध गर्दा नौ वर्षदेखि अलपत्र परेको छ।
विसं २०७३ फागुनमा डोकेबजारदेखि दैजीसम्मको ६४ किलोमिटर हुलाकी सडक कालोपत्र गर्न तीन प्याकेजमा ठेक्का दिइएको थियो। दोस्रो प्याकेजअन्तर्गत पर्ने पचुँइ क्षेत्रमा नेपाल–भारत सीमा स्तम्भ नं ३८ रहेको र सुतिया खोलालाई सीमा मान्दै आएको स्थानीयको भनाइ छ।
भारतीय सुरक्षाकर्मीले उक्त सडक खण्ड दशगजामा पर्ने दाबी गर्दै ग्राइभेल हाल्न समेत अवरोध गरेको स्थानीयवासी मानबहादुर चौधरीले बताए। उनले सदियौँदेखि नेपाली भूमिमा पर्ने सडक निर्माणमा भारतीय पक्षले बिना कारण बाधा पुर्याएको आरोप लगाए।
हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका प्रमुख मुकुन्दप्रसाद लामिछानेका अनुसार निर्माण व्यवसायीको लापरबाहीका कारण दोस्रो प्याकेज पुनः टेण्डर गर्ने तयारी छ। सीमा विवादका कारण पचुँइ क्षेत्रको एक हजार ४०० मिटर खण्ड कालोपत्र हुन नसकेको र अब त्यो भाग छोडेर काम अघि बढाउने योजना रहेको उनले बताए।
स्थानीय तह र प्रशासनले विवाद सुल्झाउन प्रयास गरे पनि निष्कर्षमा पुग्न नसकेको लामिछानेले जानकारी दिए। पहिलो र तेस्रो प्याकेजको निर्माण सम्पन्न भइसकेको छ।
