लघुवित्त र मिटरब्याज पीडितको समस्यामा सरकारको ध्यानाकर्षण
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लघुवित्त, सहकारी र मिटरब्याज पीडितका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएर समाधान गर्नुपर्नेमा जोड दिएकी छन् ।
मंगलबार ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय अगाडि धर्नामा रहेका वित्तीय पीडितहरूलाई भेट्न पुगेकी भण्डारीले आन्दोलनरत महिलाहरूको स्वास्थ्य स्थितिप्रति चासो व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
उनले पीडितका मागहरूका बारेमा जानकारी लिइन् । उनीहरूको समस्या समाधानका लागि सरकारलाई सचेत गराइन् । पाँच दिनदेखि धर्नामा बसेका पीडितहरूले २०८२ माघमा तत्कालीन सरकारसँग भएका सहमति पूरा गर्न माग गरेका छन् ।
पीडितहरूले सरकारले आफ्नो माग र पूर्ववत् सहमतिको बेवास्ता गरेको गुनासो गरेका छन् । उनीहरूले ‘बालेनले हामीलाई सुनेनन्, एन्टोनियो गुटेरेस तिमीले हाम्रो दुःख–पीडा सुनिदेऊ’, ‘हाम्रो घर छैन, परिवार छैन, नेपालले देखेन, संयुक्त राष्ट्र संघले हाम्रो पीडा देखोस्’ लेखेका प्लेकार्डहरू धर्ना स्थलमा राखेका छन् ।
उनीहरूले गत साउन २९ गते आयोगमा ज्ञापनपत्र बुझाएपछि आयोगको कार्यालयबाहिर धर्ना सुरू गरेका थिए ।
