NM Khabar 22 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

बालिका गरिमा हत्या प्रकरण: दोषीले उन्मुक्ति पाउँदैन, मन्त्री चौधरीको प्रतिबद्धता

बालिका गरिमा चौधरीको जघन्य हत्या प्रकरणले स्तब्ध बनाएको भन्दै मन्त्री गिता चौधरीले दोषीलाई कडा कारबाही हुने बताएकी छन्। उनले घटनाले छोरीहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको उल्लेख गरिन्। गृहमन्त्रीसँगको कुराकानीपछि मन्त्री चौधरीले पीडित परिवारलाई न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।
Maya Thapa
Maya Thapa
22 August 2026, 4:33 pm १ मिनेट पढाइ
आकार:
गरिमा चौधरी हत्या प्रकरण
Share:

बालिका गरिमा चौधरीको जघन्य हत्या प्रकरणले आफूलाई स्तब्ध बनाएको भन्दै कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले दोषीलाई कानुनबमोजिम कडा कारबाही हुने बताएकी छन्।

शनिबार सामाजिक सञ्जालमार्फत मन्त्री चौधरीले यो घटनाले नेपाली समाजमा छोरीहरूको सुरक्षामाथि गम्भीर प्रश्न उब्जाएको उल्लेख गरिन्।

उनले आफ्नी पाँच वर्षीया छोरीले गरिमाको हत्याबारे सुनेको क्रूरता सुनाउँदै भनिन्, ‘ममी, यो बच्चाको त आँखा र जिब्रो निकालेर मारेको रे।’ यो वाक्यले आफूलाई भित्रैदेखि स्तब्ध बनाएको उनले बताइन्। पाँच वर्षीया बालिकासमेत यस्ता घटनाबारे थाहा पाउने अवस्था आउनु हामीले कस्तो समाज निर्माण गर्दै छौं भन्ने गम्भीर प्रश्न हो।

सिमरामा रहेकी साथी राधा चौधरीमार्फत पीडित परिवारको अवस्थाबारे जानकारी पाएपछि मन्त्री चौधरीले तत्काल गृहमन्त्रीसँग टेलिफोन संवाद गरेकी थिइन्।

गृहमन्त्रीले घटनामा संलग्न व्यक्ति पक्राउ परिसकेको, परिवारसँग समन्वय भइरहेको र गम्भीरतापूर्वक छानबिन अघि बढाइएको जानकारी दिएको मन्त्री चौधरीले बताइन्।

सरकारको तर्फबाट तत्काल पहल र अनुसन्धान अघि बढाएकोमा गृहमन्त्री र सम्बन्धित निकायलाई धन्यवाद दिँदै उनले पीडित परिवारलाई न्याय दिलाउन निरन्तर समन्वय र पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

‘म स्वयं थारू समुदायबाट आएको र जनप्रतिनिधिका रूपमा सरकारमा रहेकाले यो घटना मेरो लागि अझ संवेदनशील छ,’ मन्त्री चौधरीले भनिन्। ‘गरिमाको परिवारले भोगिरहेको पीडा समाज र राज्यकै लागि गम्भीर चेतावनी हो। यस जघन्य अपराधमा संलग्न दोषीलाई कडा कारबाही हुनेछ र परिवारले न्याय पाउनेछन्।’

छोरीहरूले कुनै डर वा त्रासविना सुरक्षित भविष्यको सपना देख्न सक्ने समाज निर्माण गर्न सबैलाई एकजुट हुन आग्रह गर्दै मन्त्री चौधरीले दिवंगत बालिका गरिमा चौधरीप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेकी छन्।

Maya Thapa

Maya Thapa

संवाददाता · NM Khabar

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

सम्बन्धित समाचार