तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्याको विरोधमा स्थानीयवासीले वीरगन्ज–पथलैया सडकखण्ड चौथो दिन पनि अवरुद्ध पारेका छन्। साउन ३१ गते बिहानदेखि सम्पर्कविहीन भएकी बालिकाको भदौ २ गते घरनजिकैको एक घरमा विभत्स शव फेला परेको थियो। प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले घटनाको अनुसन्धान भइरहेको बताए।
स्थानीयवासीले सिमरा खण्डमा टेन्ट टाँगेर धर्ना दिइरहेका छन्। बिहीबार राति स्थानीय प्रशासन, राजनीतिक दल र जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिको उपस्थितिमा आन्दोलनरत पक्षसँग पाँच बुँदे सहमति भएको थियो।
तर, गरिमाको परिवारले उक्त सहमतिमा आफ्नो सहभागिता र सहमति नरहेको जनाएको छ। परिवारले दोषीलाई कडा कारबाहीको माग गर्दै न्यायका लागि आन्दोलन जारी राखेको छ।
विभिन्न राजनीतिक दल र सङ्घसंस्थाले पनि दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शनमा ऐक्यबद्धता जनाएका छन्। सडक अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित भएको छ।
