भदौ ५ गते शुक्रबार राष्ट्रिय सतर्कता केन्द्रले उपत्यकाका १५ सरकारी कार्यालयमा अनुगमन गरी सेवा प्रवाह सुधार, कर्मचारीको समय पालना र तोकिएको पोसाक तथा आचरण पालना गर्न निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको केन्द्रले यातायात व्यवस्था कार्यालय, जिल्ला खेलकुद विकास समिति, काठमाडौँ महानगरपालिकाका वडा कार्यालय, स्वास्थ्य केन्द्र, डिभिजन वन कार्यालय, जग्गा एकीकरण आयोजना, आन्तरिक राजस्व कार्यालय, जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र, गुणस्तर तथा नापतौल विभाग, मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्र र दुग्ध वितरण आयोजना लगायतका कार्यालयको निरीक्षण गरेको थियो।
अनुगमनका क्रममा कार्यालयको सेवा प्रवाहको अवस्था, कर्मचारीको समयमा हाजिर हुने बानी, पोसाक र आचरणको निरीक्षण गरिएको थियो। केही कर्मचारीले तोकिएको समयमा कार्यालय उपस्थित नभएको र कतिपयले तोकिएको पोसाक नलगाएको पाइएको थियो।
केन्द्रले अनुगमनपछि सम्बन्धित कार्यालयलाई प्रचलित कानुन बमोजिम कर्मचारीमाथि आवश्यक कारबाही गरी केन्द्रलाई जानकारी गराउन निर्देशन दिएको छ। काठमाडौँ महानगरपालिकाका वडा नं ७ र ८ का कार्यालयलाई सेवा प्रवाह थप प्रभावकारी र जनमैत्री बनाउन विशेष निर्देशन दिइएको छ।
रामघाट प्राथमिक स्वास्थ्य केन्द्रलाई सेवा सम्बन्धी प्रचलित कानुन बमोजिम कारबाही गरी केन्द्रलाई जानकारी गराउन भनिएको छ। मनोहरा जग्गा एकीकरण आयोजनालाई अनिवार्य नागरिक बडापत्र राख्न र सहयात्री समितिको बैठक बस्न निर्देशन दिइएको छ।
जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रलाई प्रचलित कानुनबमोजिम कारबाही गरी केन्द्रलाई जानकारी गराउन तथा काठमाडौं दुग्ध वितरण आयोजनालाई ई–हाजिरी व्यवस्था जडान गर्न निर्देशन दिइएको छ।
केन्द्रले सरकारी सेवालाई नागरिकमैत्री, अनुशासित र मर्यादित बनाउन सक्रियता बढाएको छ। सरकारी निकायमा भ्रष्टाचार, कर्मचारीले आचारसंहिता पालना नगरेको वा शङ्कास्पद सम्पत्तिबारे सूचना केन्द्रको हटलाइन ०१४२००३४५ मा फोन गरेर दिन सकिने जनाइएको छ।
