उदयपुरको बेलका नगरपालिकामा स्कुल बस र अटो ठोक्किँदा तीन जनाको मृत्यु भएको छ। दुई जना घाइते छन्। Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
सोमबार बिहान करिब ९:४५ बजे बेलका–५, जहडामा सफल आदर्श इंग्लिस बोर्डिङ स्कुलको को१ख ३५१६ नम्बरको बस र को.प्र.०५–००१ ह ०६१३ नम्बरको अटो एकापसमा ठोक्किएका थिए। प्रहरीले दुर्घटनाको पुष्टि गरेको छ।
दुर्घटनामा घाइते भएकाहरूलाई स्थानीय अस्पतालमा पुर्याएर उपचार गरिएको थियो। थप उपचारका लागि उनीहरूलाई सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो।
धरानमा उपचारका क्रममा बेलका–५ की ३४ वर्षीया मन्दिरा मगर, अर्की एक महिला र अटो चालक बेलका–५ कै २८ वर्षीय इन्द्र थापामगरको मृत्यु भएको प्रहरीले जनाएको छ।
१८ वर्षीय रोशन मगर र मोरङको विराटनगर–१२ का १९ वर्षीय अजित गुरुङको उपचार सोही अस्पतालमा भइरहेको छ।
प्रहरीले अटो नियन्त्रणमा लिएको छ। बस र चालक बेलका–५ का ३६ वर्षीय विक्रम थापा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको नियन्त्रणमा छन्।
