जनकपुरधाम । जेनजी आन्दोलनले धनुषा, महोत्तरी र सर्लाहीका सरकारी कार्यालयहरूमा पुर्याएको क्षति मर्मत गर्न ७३ लाख रुपैयाँ सकिएको छ । संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय जनकपुरले ७२ लाख ४९ हजार ६ सय ८८ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ ।
मर्मत गरिएका कार्यालयहरूमा जिल्ला अदालत धनुषा, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबास, जिल्ला अदालत सर्लाही, जिल्ला सहकारी वकिल कार्यालय सर्लाही, महेन्द्र नारायण मिथिला सांस्कृतिक केन्द्र जनकपुर, जिल्ला कारागार सर्लाही तथा राईजोवियम तथा घाँसेबाली बीउबिजन प्रयोगशाला छन् । गत वर्ष भदौ २४ गते प्रदर्शनकारीले सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी गरेका थिए ।
संघीय सहरी विकास तथा भवन कार्यालयका सूचना अधिकारी सुधीर शाहले मन्त्रालयले छुट्याएको बजेटबाट मर्मत सम्पन्न भएको बताए । कतिपय कार्यालयका भित्री कोठा कामै नलाग्ने अवस्थामा पुगेका थिए । यसले सेवाग्राहीको काममा प्रत्यक्ष अवरोध सिर्जना गरेको थियो ।
आर्थिक वर्ष २०८२/०८३ मा जेनजी आन्दोलन र ठेकेदारहरू महँगीलगायत कारणले विकास निर्माणका काम प्रभावित भएका छन् । कार्यालयले गत वर्ष सर्लाहीमा ७ वटा विद्यालय, धनुषा, महोत्तरी र सर्लाहीमा ३ वटा सामुदायिक भवन, महोत्तरीमा स्वास्थ्य भवन र सर्लाहीमा २ वटा तथा महोत्तरीमा ३ वटा इमरेजेन्सी सेल्टर निर्माण गरेको छ ।
यस्तै कार्यालयले १५.६६ किलोमिटर कालोपत्रे, ३.१८ किलोमिटर सडक ढलान तथा ६.७६ किलोमिटर नाला निर्माण सम्पन्न गरेको छ ।
