रसुवाको भोटेकोशी नदीमा आएको बाढीले मधेस प्रदेशका ५८ जना नागरिकलाई बेपत्ता बनाएको छ। प्रदेश प्रहरी कार्यालयले सम्पर्कविहीनहरूको विवरण संकलन थालेको छ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रभुप्रसाद ढकालका अनुसार हालसम्म मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको छ।
पछिल्लो विवरणअनुसार सप्तरीका ३२ जना, बाराका आठ जना, पर्साका पाँच जना, सर्लाहीका सात जना, रौतहटका दुई जना र सप्तरीका दुई जना सम्पर्कविहीन भएका छन्।
यसैबीच, भोटेकोशी बाढीमा परी ज्यान गुमाएका व्यक्तिको विवरण नेपाल प्रहरीले आफ्नो पोर्टलमा अपडेट गरेको छ। बाढीमा परी ज्यान गुमाएका, पहिचान नखुलेका तथा बेवारिसे शवको विवरण आफन्तसम्म सहजै पुर्याउने उद्देश्यले सञ्चालित उक्त पोर्टल प्रहरीले अपडेट गरेको हो।
प्रहरीको उक्त पोर्टलमा बुधबार आएको बाढीका क्रममा भेटिएका शवको नाम, भेटिएको स्थान र समय समावेश गरिएको छ। हालसम्म पहिचान खुल्न नसकेका शवको हकमा भने ‘नाम नखुलेको’ भनी उल्लेख गरिएको छ।
यदि कसैले पोर्टलमा राखिएका विवरणका आधारमा भेटिएको शव आफ्ना आफन्तको भएको पहिचान गरेमा, सोही पोर्टलमा रहेको ‘विवरण हेर्नुहोस्’ अप्सनमा ट्याप गरी आफ्नो सम्पर्क विवरण प्रहरीलाई पठाउन सक्ने व्यवस्था छ। साथै, शवसँग सम्बन्धित उपलब्ध अन्य थप विवरण पनि सोही पोर्टलमार्फत हेर्न सकिने सुविधा रहेको छ।
यो सामग्री तयार पार्दासम्म प्रहरीको पोर्टलमा रसुवा बाढीबाट ज्यान गुमाएका ८७ जना व्यक्तिको शवको विवरण अद्यावधिक भइसकेको छ।
