NM Khabar 30 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

रसुवा बाढी: बेपत्ता १६२ मधेशीको खोजी जारी, ३० जना सम्पर्कमा

रसुवाको भोटेकोशीमा आएको बाढीमा मधेस प्रदेशका १९२ जना बेपत्ता भएकामा ३० जना परिवारको सम्पर्कमा आएका छन्। बाँकी १६२ जनाको अवस्था अझै अज्ञात छ, जसमध्ये पर्साका ३८ जना सबैभन्दा बढी छन्। बेपत्ता हुनेहरू अधिकांश हाइड्रोपावरमा कार्यरत रहेको र सुरुङभित्र फसेको हुनसक्ने अनुमान छ।
Kamala Devi
Kamala Devi
30 August 2026, 7:32 pm १ मिनेट पढाइ
आकार:
रसुवा बाढी बेपत्ता
Share:

रसुवाको भोटेकोशीमा आएको विध्वंशकारी बाढीले मधेस प्रदेशका १९२ जना बेपत्ता भएकामा हालसम्म ३० जना परिवारको सम्पर्कमा आएका छन्। बाँकी १६२ जनाको अवस्था अझै अज्ञात छ।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी प्रभ प्रसाद ढकालका अनुसार सप्तरीका ४८ जना अझै सम्पर्कविहीन छन्। सिरहाका १० जना बेपत्ता भएकोमा २ जना सम्पर्कमा आएका छन् भने ८ जनाको अवस्था अज्ञात छ। धनुषाका ७ जना सम्पर्कमा आएका छन् भने ६ जना अझै सम्पर्कविहीन छन्।

महोत्तरीका १७ जना हराएकोमा ७ जना सम्पर्कमा आए पनि १० जनाको अवस्था अज्ञात छ। सर्लाहीबाट १९ जना सम्पर्कविहीन भएकोमा ३ जना परिवारको सम्पर्कमा आएका छन् भने १६ जना बेपत्ता छन्। रौतहटका १९ जनामध्ये ३ जना परिवारको सम्पर्कमा आएका छन् भने १६ जना अझै बेपत्ता छन्।

बाराका २५ जना बेपत्ता भएकोमा २ जना सम्पर्कमा आएका छन् भने २३ जनाको अवस्था अझै अज्ञात छ। पर्सा जिल्लाबाट ४० जना सम्पर्कविहीन भएकोमा २ जना सम्पर्कमा आए पनि ३८ जनाको अवस्था अझै अज्ञात छ।

नेपाल प्रहरीमा कार्यरत मधेसका ९ जना हराएकोमा ६ जना सम्पर्कमा आएका छन् भने ३ जनाको अवस्था अज्ञात छ। नेपाली सेनामा कार्यरत ३ जना बेपत्ता भएकोमा १ जना सम्पर्कमा आएको र २ जना अझै सम्पर्कविहीन छन्।

सम्पर्कविहीन भएकाहरूमध्ये अधिकांश हाइड्रोपावरमा कार्यरत भएकाले सुरुङभित्र फसेको हुनसक्ने परिवारका सदस्यहरूको अनुमान छ। भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर बेपत्ता भएकाहरूको खोजी गरिदिन आग्रह गर्दै विभिन्न जिल्लाका प्रहरी कार्यालयमा परिवारका आफन्तले निवेदन दिएका छन्।

प्रहरीले सूचना सार्वजनिक गर्दै मधेसबाट कसैको आफन्त हराएको वा सम्पर्कविहीन अवस्थामा छ भने आफ्ना विभिन्न युनिटमा विवरणसहित निवेदन दिन आग्रह गरेको छ। मधेसका विभिन्न जिल्लाबाट रसुवा, धादिङ, नुवाकोटमा रोजगारी तथा व्यापार व्यवसायका लागि गएकाहरू उक्त घटनामा परेर सम्पर्कविहीन भएपछि परिवारजन चिन्तित बनेका छन्।

मधेस प्रदेश प्रहरी कार्यालयले सम्पर्कविहीन व्यक्तिहरूको खोजतलासका लागि रसुवा, धादिङ लगायतका प्रभावित जिल्लाका प्रहरी कार्यालयहरूसँग समन्वय गरी काम थालिएको जनाएको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार