पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि बारा, पर्साका उद्योगबाट उपत्यकालाई एलपी ग्यास आपूर्ति सुरु भएको छ। ग्यास बोकेका बुलेटहरू उक्त सडकखण्ड पार गर्न नसक्ने भएपछि यो वैकल्पिक व्यवस्था गरिएको हो।
नेपाल आयल निगमले उद्योगीलाई राजधानी बाहिर ग्यास भर्न अनुमति दिएको छ। उपत्यका र छिमेकी जिल्लामा रहेका १६ वटा उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लाका उद्योगहरूसँग समन्वय गरी ग्यास भर्नेछन्।
उपत्यका र छिमेकी जिल्लामा मात्रै कुल ग्यास खपतको ४० प्रतिशतभन्दा बढी आवश्यक पर्ने नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष देवान चन्दले बताए।
बाबा ग्यासका सञ्चालक विमल कालाखेतीले कृष्णभीरको सडकखण्ड नखुलेसम्म अन्य उद्योगमा ग्यास भरेर वैकल्पिक मार्गमार्फत काठमाडौं लैजाने जानकारी दिए।
यी जिल्लाका उद्योगमा भरिएको ग्यास त्रिभुवन राजपथलगायतका सडक प्रयोग गरी काठमाडौं पुर्याइनेछ।
बाहिरका उद्योगमा ग्यास भर्ने काम सुरु भइसकेकाले उपत्यका र छिमेकी जिल्लामा ग्यासको अभाव नहुने उनले बताए। उनले उपभोक्ताहरूलाई ग्यास जम्मा गरेर नराख्न सुझाव दिए।
श्री ग्यासले बाबा ग्यासमा, श्रीकृष्णले साइबाबा ग्यासमा, श्रीरामले जानकी ग्यासमा, नेपाल ग्यासले नेपाल गण्डकी ग्यासमा, एभरेष्ट र सुगमले साहारा उद्योगमा ग्यास भर्न सुरु गरिसकेका छन्।
अन्य उद्योगहरूले पनि राजधानी बाहिरका उद्योग वा अन्य उद्योगहरूसँग समन्वय गरी ग्यास भर्न सुरु गरिसकेको उनको भनाइ छ।
