रसुवा भोटेकोशी बाढीले ३ खर्ब ८७ अर्बको क्षति, ७ अर्ब ९५ करोडको ‘अर्ली रिकभरी’
रसुवाको भोटेकोशी नदीमा १० भदौमा आएको विनाशकारी बाढीले ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्षति पुर्याएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीवार साँझ सार्वजनिक गरेको प्रारम्भिक अध्ययनले यस्तो देखाएको हो।
प्राधिकरणका अनुसार बाढीबाट क्षेत्रगत र मानवीय गरी उक्त क्षति भएको छ। तत्काल ‘अर्ली रिकभरी’का लागि ७ अर्ब ९५ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान छ।
यसैबीच, भोटेकोसी बाढीका कारण नियमित परीक्षामा सहभागी हुन नसकेका विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले छुट्टै परीक्षा सञ्चालन गर्ने भएको छ। त्रिविको रजिस्ट्रार कार्यालयले असोजको दोस्रो साताभित्र परीक्षा लिने सूचना जारी गरेको छ।
बाढीले घाइते भएका, काजकिरियामा बसेका वा घरबारविहीन भएका विद्यार्थीले स्थानीय तहको सिफारिसमा परीक्षा दिन पाउनेछन्।
गृह मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत कार्यलाई व्यवस्थित बनाउन अनधिकृत ड्रोन उडानमा कडाइ गरेको छ। राहत सामग्री ढुवानी र शव स्थानान्तरणका लागि प्रयोग हुने १०० किलोग्रामसम्म भारवहन क्षमता भएका आधिकारिक ड्रोनलाई मात्र अनुमति दिइनेछ।
अनुमतिबिना साना ड्रोन उडाए नियन्त्रणमा लिई जफत गरिने मन्त्रालयले चेतावनी दिएको छ। गृह मन्त्री सुधन गुरुङले सरकारी निर्देशन पालना गर्न आग्रह गरेका छन्।
