काठमाडौँ। अध्यागमन विभागका कम्प्युटर अपरेटर राजीव महतो सरकारी प्रणालीको दुरुपयोग गरी गैरकानुनी भिसा जारी र राजस्व हिनामिना गरेको आरोपमा पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रौतहट घर भएका ३० वर्षीय महतोलाई ललितपुरबाट नियन्त्रणमा लिएको हो।
तत्कालीन कम्प्युटर अपरेटरका रूपमा महतोले ‘नेपाली पोर्ट’ प्रणालीमा आफ्नो पहुँचको दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको छ। उनले पदको दुरुपयोग गरी विदेशी नागरिकलाई भिसा शुल्क नै नलिई भिसा जारी गरी सरकारी राजस्व हिनामिना गरेको आरोप छ।
महतोमाथि लक्जेम्वर्गका नागरिकको भिसा जारी गर्दा नियमअनुसार लाग्ने १ हजार २ सय अमेरिकी डलर (करिब १ लाख ५९ हजार ४०८ रुपैयाँ) राजस्व दाखिला नगरी सरकारी कागजात कीर्ते गरेको आरोप छ। उनले ‘ट्राभल सेन्ट्रलाइजेसन सिस्टम’ मार्फत अमेरिकी नागरिकको नाममा समेत गैरकानुनी भिसा सिर्जना र स्वीकृत गरेको अभियोग छ।
काठमाडौँ जिल्ला अदालतको पक्राउ अनुमतिमा महतोलाई बिहीबार ललितपुरको महालक्ष्मी नगरपालिका–५, टीकाथलीबाट नियन्त्रणमा लिइएको हो। पक्राउ परेका महतोमाथि ‘लिखत सम्बन्धी कसुर’ मा थप अनुसन्धान गर्न ब्यूरोको हिरासतमा राखिएको सीआईबीका सूचना अधिकारी एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रका आधारमा ब्यूरोले यो अनुसन्धान अघि बढाएको थियो।
