गृह मन्त्रालयले २३ उच्च तहका कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ। मन्त्रीस्तरीय निर्णयबाट १४ सहसचिव र ९ उपसचिवको सरुवा तथा पदस्थापन गरिएको हो।
यो निर्णयसँगै झापा, सुर्खेत, बारा, गोरखा, रौतहट, दोलखा, पर्वतसहित सात जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) नियुक्त भएका छन्।
सहसचिव श्रवणकुमार पोखरेल झापाको सीडीओ बनेका छन्। यसअघि झापामा कार्यरत शिवराम गेलाललाई गृह मन्त्रालयमा तानिएको छ।
यस्तै, महेन्द्रकुमार सापकोटा सुर्खेत, खडानन्द अधिकारी बारा, धर्मेन्द्रकुमार मिश्र गोरखा, रेखा कँडेल दोलखा, गंगाबहादुर क्षेत्री पर्वत र लक्ष्मीप्रसाद पौडेल रौतहटको सीडीओमा पठाइएका छन्।
रौतहटका सीडीओ दिनेशसागर भुसाल, गोरखाका तुलसीबहादुर श्रेष्ठ र दोलखाका हरिप्रसाद घिमिरेलाई गृह मन्त्रालय वा मातहतका निकायमा तानिएको छ।
सहसचिव ऋषिराम तिवारी लागूऔषध नियन्त्रण विभागको महानिर्देशक बनेका छन्।
उपसचिव तहमा पनि विभिन्न जिल्लाका प्रशासनिक नेतृत्वमा परिवर्तन गरिएको छ। कुलेश्वर अर्याल भोजपुर, नवराज बराल जाजरकोट, महेशकुमार गुरुङ खोटाङ, बन्दना केसी सल्यान र गणेश गैरे म्याग्दीको सीडीओमा नियुक्त भएका छन्।
यसैगरी, अमरबहादुर वली बाँकेको सहायक सीडीओ र बेदराज फुयाँल डडेल्धुराको सीडीओमा सरुवा भएका छन्।
प्रशासनिक कामकारबाहीलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो सरुवा तथा पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ।
