राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको ह्विप उल्लंघन गरेको भन्दै बागमती प्रदेश सभाका पाँच सांसदलाई पदमुक्त गर्न प्रदेश सभा सचिवालयमा पत्राचार गरेको छ। राप्रपा बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक डम्बरबहादुर तामाङले उपसभामुखलाई पत्र लेख्दै पार्टीको निर्णयविपरीत गतिविधि गरेको आरोपमा पाँच प्रदेश सभा सदस्यलाई कारबाही गरी पदमुक्त गर्न माग गरेका हुन्।
कारबाही प्रक्रियामा भुवनकुमार पाठक, कुमारी तामाङ, लक्ष्मी घिमिरे, धनेश्वरी प्रजापति र आशा लामाविरुद्ध पार्टीले प्रक्रिया अघि बढाएको छ। मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सभामा विश्वासको मत लिने तयारी गर्दा राप्रपाभित्र सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा मतभेद उत्पन्न भएको थियो। राप्रपा बागमती संसदीय दलका नेता उद्धव थापाले एमाले नेतृत्वको प्रदेश सरकारलाई विश्वासको मत दिने निर्णय गरेका थिए।
तर, पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको निर्देशनविपरीत पाँच सांसदले संसदीय दलको निर्णय उल्लंघन गरेको राप्रपाको दाबी छ। सोही आधारमा उनीहरूलाई प्रदेश सभा सदस्य पदबाट हटाउन प्रदेश सभा सचिवालयमा पत्र दर्ता गरिएको हो। राप्रपाका अनुसार पार्टीको विधान तथा संसदीय दलको विधान, २०७९ बमोजिम उनीहरूलाई कारबाही गर्ने निर्णय भएको छ।
स्रोतका अनुसार, भदौ २ गते बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री किरण थापा मगर नेतृत्वको प्रदेश सरकारलाई विश्वासको मत दिने निर्णय गरेको थियो। सोहीअनुसार भदौ ७ गतेको दलको बैठकले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित भई पक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो। तर, पाँच जना सांसदहरूले सो ह्विप उल्लंघन गर्दै भदौ ९ गते बसेको प्रदेशसभा बैठकमा अनुपस्थित भएको राप्रपाले जनाएको छ।
पार्टीले पाँचै जनालाई ७२ घण्टाभित्र स्पष्टीकरण पेस गर्न समय दिएको थियो। तर, तोकिएको समयभित्र कुनै पनि सदस्यले स्पष्टीकरणको जवाफ नदिएको राप्रपाले जनाएको छ। स्पष्टीकरणसमेत नदिएपछि पार्टीको विधान र संसदीय दलको ह्विप उल्लंघन गरेको ठहर गर्दै उनीहरूलाई प्रदेशसभा सदस्यबाट हटाउने निर्णय गरिएको राप्रपा बागमती प्रदेश संसदीय दलले जनाएको छ।
