NM Khabar 10 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

गजेन्द्रनारायण सिंह अस्पताल घटना: कांग्रेस मधेसको छानबिन माग

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पैसा अभावले सुत्केरी महिलालाई भर्ना नलिएको आरोप छ। कांग्रेस मधेस प्रदेशले घटनाको सत्यतथ्य छानबिन गर्न विशेष समिति गठनको माग गरेको छ। अस्पतालले आमा र शिशुको स्वास्थ्य सामान्य रहेको जनाउँदै आन्तरिक छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
Kamala Devi
Kamala Devi
10 September 2026, 5:33 pm १ मिनेट पढाइ
आकार:
गजेन्द्रनारायण सिंह अस्पताल
Share:

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको मूल गेटबाहिर एक महिलाले बच्चा जन्माएको भिडियो सार्वजनिक भएपछि नेपाली कांग्रेस, मधेस प्रदेशले घटनाको सत्यतथ्य छानबिन गर्न विशेष समिति गठनको माग गरेको छ। कांग्रेस मधेस प्रदेशको सूचना तथा सञ्चार विभागले बिहीबार विज्ञप्ति जारी गर्दै यसलाई स्वास्थ्य प्रणालीको चरम लापरबाही र अमानवीय कार्यको संज्ञा दिएको छ।

प्रचार प्रमुख नितेशकुमार गुप्ताद्वारा जारी विज्ञप्तिमा स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा आर्थिक अवस्था कमजोर भएकै कारण कुनै नागरिक उपचारबाट वञ्चित हुनु दुःखद र गम्भीर विषय भएको उल्लेख छ। गरिब र विपन्न वर्गको भरोसा मानिने सरकारी अस्पतालमै यस्तो व्यवहारले राज्यको स्वास्थ्य नीतिमाथि प्रश्न खडा गरेको कांग्रेसको ठहर छ।

कांग्रेस मधेस प्रदेशले घटनाको तत्काल र निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, संलग्नलाई कानुनी दायरामा ल्याउन र विपन्न नागरिकको स्वास्थ्य उपचार सुनिश्चित गर्न माग गरेको छ। यस्ता अमानवीय घटनाको पुनरावृत्ति रोक्न स्वास्थ्य प्रणालीमा सुधारको पनि माग गरिएको छ।

यसैबीच, अस्पताल प्रशासनले घटनाबारे ध्यानाकर्षण भएको जनाएको छ। अस्पतालको बिहीबारको विज्ञप्तिअनुसार भदौ २४ गते बिहान प्रसव व्यथा लागेर आएकी ३० वर्षीया बबिताकुमारी पासवानलाई प्रारम्भिक जाँचपछि प्रसूति वार्डको बेड नं. २४ मा भर्ना गरिएको थियो। आवश्यक जाँच रिपोर्ट नभएकाले जाँच गराउन सुझाव दिइएको थियो। त्यसपछि बिरामी शैयामा नरहेको अवस्थामा बिहान पौने बजे गेटबाहिर प्रसूति भएको अस्पतालले जनाएको छ।

प्रसूतिपछि आमा र शिशुलाई पुनः प्रसूति वार्डमा ल्याई उपचार गरिएको थियो। हाल दुवै जनालाई अस्पतालको बेड नम्बर २२ मा भर्ना गरी स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राखिएको छ। दुवैको स्वास्थ्य अवस्था सामान्य छ। अस्पतालले उनीहरूको सम्पूर्ण स्वास्थ्य उपचार, औषधि र आवश्यक सेवा निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ।

अस्पताल प्रशासनले गेटमै प्रसूति हुनुपर्ने अवस्था सिर्जना हुनुलाई संवेदनशील र गम्भीर विषय मानेको छ। सत्यतथ्य पत्ता लगाउन निष्पक्ष आन्तरिक छानबिन प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको छ। छानबिनबाट दोषी देखिएका कर्मचारी वा सम्बन्धित पक्षलाई प्रचलित कानुनअनुसार कारबाही गरिनेछ। बाह्य छानबिन समिति गठन भएमा पनि पूर्ण सहयोग गर्ने अस्पतालले स्पष्ट पारेको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार