सिराहा । हिमाल, पहाड र तराई सबै क्षेत्रबाट चुनाव जितेर प्रधानमन्त्री बन्ने एक्लो नेता आफू भएको पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दाबी गरेका छन्। सिराहामा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा उनले पछिल्लो चुनाव जित्ने आफू मात्र एक्लो पूर्वप्रधानमन्त्री भएको जिकिर गरे।
उनले आफ्नो राजनीतिक यात्रा र चुनावी सफलतालाई ऐतिहासिक रेकर्डको संज्ञा दिए। ‘मैले एउटा रेकर्ड बनाएको छु। म पहिला राजधानीबाट, रोल्पाबाट, सिराहाबाट, चितवनबाट र गोरखाबाट निर्वाचित भएँ,’ उनले भने, ‘अहिले रुकुम पूर्वबाट निर्वाचित भएको छु।’ तराई, मधेस, पहाड र हिमाल सबैतिरबाट विजयी भएर प्रधानमन्त्री बन्ने सौभाग्य आफूलाई मात्र प्राप्त भएको उनको भनाइ थियो।
छ-सात जना पूर्वप्रधानमन्त्री रहेको सन्दर्भमा उनले चुनाव जित्ने मामलामा आफू भाग्यमानी रहेको बताए। ‘यो पटकको निर्वाचनमा निर्वाचित हुने र विजयी हुने एउटै मात्रै प्रधानमन्त्री प्रचण्ड मात्रै हो,’ उनले थपे, ‘दायाँबायाँ हेर्दा कोही छैनन्।’
सिराहाको अत्यधिक गर्मीका बिच पनि कार्यक्रममा कार्यकर्ताको बाक्लो भीड देख्दा उनी उत्साहित देखिए। मिर्चैया नगरपालिकाको एक विद्यालयको कार्यक्रम सकेर त्यहाँ पुगेका उनले गर्मी र पार्टीप्रतिको उत्साह घटेको हल्लाका कारण उपस्थिति पातलो हुने अनुमान गरेका थिए। तर, खुट्टा राख्ने ठाउँ नहुने गरी कार्यकर्ता उपस्थित भएको देख्दा उनले धन्यवाद दिए। ‘तपाईंहरूले गर्मीको प्रवाह नगरी पार्टीप्रति फेरि एकपटक भरोसा र विश्वास व्यक्त गर्नुभयो,’ प्रचण्डले भने।
पञ्चायतविरोधी आन्दोलन, जनयुद्धको तयारी र शान्ति प्रक्रियादेखि नै आफू सिराहासँग नजिक रहेको उनले स्मरण गरे। दोस्रो संविधानसभा निर्वाचनमा सिराहा क्षेत्र नम्बर ५ बाट जिताएर आफूलाई दोस्रो पटक प्रधानमन्त्री बनाएको भन्दै उनले सिराहावासीप्रति सधैँ ऋणी रहने बताए।
सम्बोधनका क्रममा प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि व्याख्या गरे। संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि नयाँ संघर्ष सुरु भएको उनले बताए।
भाद्र २४ गतेको घटनालाई पार्टीको केन्द्रीय समितिले ‘नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासको कालो दिन’ घोषणा गरेको उनले जानकारी दिए। ‘त्यसलाई कालो दिनका रूपमा लिनुपर्छ। त्यो दिन संविधान र राष्ट्रिय स्वाधीनताविरुद्ध निकै ठुलो प्रतिक्रान्तिकारी षड्यन्त्र भयो,’ उनले भने। उक्त दिन सिंहदरबार लगायतका ऐतिहासिक धरोहर, दस्ताबेज, पार्टी कार्यालय र प्रहरी कार्यालयमा विध्वंस मच्चाइएको उनले बताए।
भाद्र २३ गतेको प्रदर्शनबारे प्रस्ट पार्दै प्रचण्डले सुरुमा आन्दोलन सकारात्मक रहेको बताए। ‘२३ गते दिउँसोसम्म त्यो आन्दोलन युवाहरूको भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षमा थियो। सञ्चारमाथिको प्रतिबन्धविरुद्ध थियो,’ उनले भने, ‘तर, २ बजेपछि जब त्यसले हिंसात्मक रूप लियो र घुसपैठ भयो, तब मानिसहरू मारिने परिस्थिति बन्यो।’
काठमाडौँको जिल्ला प्रशासन कार्यालयबाट प्रदर्शनको स्वीकृति लिने ‘जेन्जी’ युवाहरूको आन्दोलनमा पछि घुसपैठ भएको दाबी उनले गरे।
