राष्ट्रिय कर दिवस २०८३ को अवसरमा मंगलबार सरकारले आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा बढी कर तिर्ने व्यक्ति तथा कम्पनीहरूलाई सम्मान गरेको छ। आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा व्यक्तिगत आयकरतर्फ राजबहादुर शाह र संस्थागततर्फ सूर्य नेपाल प्रालि सर्वोत्कृष्ट करदाताका रूपमा सम्मानित भएका छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसहित अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागका अधिकारीहरूले उत्कृष्ट करदाता तथा कम्पनीका प्रतिनिधिहरूलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरेका थिए। प्रधानमन्त्री बालेन्द्र शाहले कर राज्य सञ्चालनको स्रोत मात्र नभइ सामाजिक न्याय, विकास पूर्वाधार र आत्मनिर्भर अर्थतन्त्रको मूल आधार रहेको बताएका छन्।
पृष्ठभूमि
- नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिनको स्मरण गर्दै २०६९ सालदेखि हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाइन्छ।
- आन्तरिक राजस्व विभागले हरेक वर्ष राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ।
विभिन्न क्षेत्रका उत्कृष्ट करदाता
आन्तरिक राजस्व विभागले विभिन्न क्षेत्रबाट उत्कृष्ट करदाता घोषित गरेका अन्य कम्पनी तथा व्यक्तिहरू निम्न छन्:
- मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ: हिमालयन डिस्टिलरी लिमिटेड
- बैंकिङ क्षेत्रबाट: नबिल बैंक (नवौं पटक)
- पर्यटन व्यवसायबाट: सोल्टी होटल लिमिटेड
- सूचना प्रविधि क्षेत्रबाट: तिन फाइनाइट सर्भिसेस नेपाल
- एकलौटी व्यवसायतर्फ: थर्ड आई इन्टरनेशनल
- वस्तु निर्यातको कारोबारबाट: डाबर नेपाल प्रालि
- कृषि एवं पशुपन्छी व्यवसायमा: ओसीबी फुड्स एण्ड फिड्स
- स्वास्थ्य तथा शैक्षिक संस्थामा: नोबेल कलेज तथा टिचिङ हस्पिटल
- वस्तु व्यापारको कारोबारमा: सीजी इम्पेक्स प्रालि
- ५० देखि १०० करोडसम्मको कारोबारमा: फुड एण्ड वेभरेज रिसर्च सेन्टर प्रालि
- ऊर्जामूलक कम्पनीमा: भोटेकोशी पावर प्रालि
- रेमिट्यान्स तथा मनि एक्स्चेञ्जमा: आईएमई लिमिटेड
- ५० करोडसम्म कारोबार गर्नेमा: इम्पेरियल सेक्युरिटिज प्रालि
- विशेष उद्योगमा: वरुण वेभरेज नेपाल प्रालि
- जीवन बीमातर्फ: लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड
- निर्जीवन बीमातर्फ: सिद्धार्थ प्रिमियर इन्स्योरेन्स
- लघुवित्ततर्फ: छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड
यसका साथै, प्रतिकूल व्यावसायिक अवस्थाका बाबजुद उल्लेख्य कर योगदान गरेको भन्दै भाटभटेनी सुपरमार्केटलाई एक्सेप्सनल बिजनेस विधामा उत्कृष्ट घोषित गरिएको छ। भाटभटेनी सुपरमार्केटका तर्फबाट सावित्री गुरुङले सम्मान तथा प्रमाणपत्र ग्रहण गरेकी थिइन्। २०८२ भदौमा भएको जेनजी आन्दोलनका बेला भाटभटेनीका १२ स्टोरमा आगजनी, लुटपाट र तोडफोडबाट अर्बौं रुपैयाँ बराबर क्षति भएपनि कम्पनीले एक जनाको पनि रोजगारी नखोसी पुनः लगानी गरेर लगभग सबै स्टोर सञ्चालनमा ल्याएको विभागले जनाएको छ।
विभागको १५ बुँदे सङ्कल्प
राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले कर प्रणालीको रूपान्तरण, प्रविधिमा नवप्रवर्तन र सेवामा सुशासन कायम गर्ने लक्ष्यसहित १५ बुँदे सङ्कल्प सार्वजनिक गरेको छ। विभागले वि.सं. २०८४ आषाढ मसान्तभित्र कुल राजस्व बेरुजु अङ्कको कम्तीमा ६० प्रतिशत फर्छ्यौट गरी सम्परीक्षण गर्ने लक्ष्य राखेको छ। विभागलाई तोकिएको ७ खर्ब ७५ अर्ब रुपैयाँको राजस्व लक्ष्य पूरा गरिने सङ्कल्प पनि गरिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले वस्तु तथा सेवाको खरिद बिक्रीमा बिल लिने दिने प्रक्रियालाई प्रोत्साहन गर्न सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गरेको उल्लेख गरेका छन्।
अब के हुन्छ
आन्तरिक राजस्व विभागले मंसिर १ देखि ७ गतेसम्म कर सप्ताह मनाउने जनाएको छ।