चितवनको भरतपुर महानगरपालिका-९ बसन्तचोकस्थित पूर्व-पश्चिम राजमार्गको सर्भिस लेनमा गुडिरहेको विद्युतीय कारमा आज बिहान आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र. ०१-०३० च ५५७९ नम्बरको इभी कारमा बिहान करिब ६ बजे आगलागी सुरु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्र भूषण यादवले Nmkhabarलाई पुष्टि गरे।
प्रहरी टोली दमकलसहित घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको थियो। आगो निभाएपछि प्रहरीले कारभित्र हालसम्म पहिचान नखुलेको एक व्यक्तिको जलेर मृत्यु भएको अवस्थामा शव फेला पारेको छ। मृतकको पहिचान खुलाउने प्रयास भइरहेको छ।
प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आगलागीबाट कार पूर्णरूपमा क्षतिग्रस्त भएको छ। आगलागीको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
