क्वालालम्पुरको बायोमास क्रिकेट ओभलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल एसीसी मेन्स प्रिमियर कप-२०२६ च्याम्पियन बनेको छ। यस जितसँगै नेपालले आगामी एसिया कपमा स्थान पक्का गर्यो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रन बनायो। ओपनर आसिफ शेखले १०६ बलमा ८ चौका र ४ छक्का प्रहार गरी १०२ रन जोडे। अर्जुन कुमालले ४३ रनको योगदान दिए। मध्यक्रममा गुलशन झाले ३८ बलमा ३ चौका र ४ छक्कासहित ५२ रन बनाए। कप्तान रोहित पौडेलले ४० रन जोडे।
३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९.१ ओभरमा २६९ रनमा अलआउट भयो। यूएईका लागि राहुल चोपडाले १०५ बलमा अविजित १०० रन बनाए। सोएब खानले ५२, तनिश सुरीले ४२, हरप्रीत सिंहले ३३ र खुजैमा तनवीरले १५ रनको योगदान दिए।
नेपालका लागि करण केसीले ९ ओभरमा ४९ रन खर्चेर सर्वाधिक ३ विकेट लिए। ललित राजवंशीले १० ओभरमा ४३ रन दिएर २ विकेट हात पारे। सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, गुलशन झा र बसिर अहमदले १-१ विकेट लिए। बसिर अहमदको बलमा हैदर अली शून्य रनमा स्टम्पिङ आउट भएसँगै नेपालको जित निश्चित भएको थियो।
