भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको संरक्षण र विपद् प्रतिकार्यका लागि सरकारको समन्वयमा झन्डै १ अर्ब रुपैयाँ बराबरका परियोजना परिचालन भएका छन्। ललितपुरको गोदावरी नगरपालिका–ठेचोमा अस्थायी संरक्षण केन्द्र सञ्चालनको तयारी अन्तिम चरणमा छ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका अनुसार, केन्द्रको ब्लक ‘ए’ मा रंगरोगन, फ्लोरिङ, म्याट्रेस, पर्दा व्यवस्थापन, कार्यालय स्थापना र विद्युतीय वायरिङ सकिएको छ। नेपाल रेडक्रस सोसाइटीबाट २० वटा हाइजिन किट प्राप्त भएका छन्। कोठाहरू तयारी अवस्थामा छन्। केन्द्रको मुख्य प्रवेशद्वार निर्माणसमेत सम्पन्न भएको छ।
केन्द्रमा शौचालय तथा भान्सा ब्लक निर्माण जारी छ। स्थायी शौचालय नबनेसम्म ललितपुर महानगरपालिका र युनिसेफले अस्थायी मोबाइल शौचालयको व्यवस्था गर्नेछन्। गोदावरी नगरपालिकाले परिसर सम्याउने र ग्राभेलिङको काम गरिरहेको छ। नगरपालिकाले बगैँचा निर्माण र सौन्दर्यीकरणका लागि फूलसमेत उपलब्ध गराएको छ। नेपाल स्काउट र लियो स्वयंसेवकहरूले सरसफाइ र परिसर व्यवस्थापनमा सहजीकरण गरिरहेका छन्।
विपद् प्रतिकार्यमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था परिचालन गर्न सामाजिक कल्याण परिषद्ले २०८३ असोज १५ गतेसम्म छोटो प्रक्रियामा परियोजना सम्झौता गर्न सकिने व्यवस्था गरेको छ। यस अवधिमा ११८ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका १२१ परियोजना स्वीकृत भएका छन्। यी परियोजनाको कुल बजेट ९७ करोड ८८ लाख १३ हजार ४४९ रुपैयाँ छ। दुई परियोजना संशोधनका लागि २७ लाख ९४ हजार ७५० रुपैयाँ थपिएपछि कुल रकम ९८ करोड १६ लाख ८ हजार १९ रुपैयाँ पुगेको छ।
५६ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले ४१ करोड २६ लाख ३५ हजार ६५३ रुपैयाँ बराबरका राहत सामग्री परिचालन गरेका छन्। उनीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड ४६ लाख ३२ हजार ६६९ रुपैयाँ नगद जम्मा गरेका छन्।
३५ राष्ट्रिय गैरसरकारी संस्थाले १८ करोड ८४ लाख ३७ हजार ९८८ रुपैयाँ सहयोग गरेका छन्। उनीहरूले २ करोड ९९ लाख ८ हजार ८१८ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका छन्।
शिक्षा तथा खेलकुद मन्त्रालयले भोटेकोशी बाढी प्रभावित विद्यार्थीका लागि करिब १ अर्ब रुपैयाँको ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ। निजी क्षेत्रका विद्यालय सञ्चालकहरूको सङ्गठनसँगको सहकार्यमा प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्मका करिब १,००० विद्यार्थीलाई निःशुल्क शिक्षा दिइनेछ। शिक्षा मन्त्री सस्मित पोखरेलले छात्रवृत्ति योजना घोषणा गरेका हुन्।
योजनाअन्तर्गत विद्यार्थीलाई पूर्ण, आंशिक र आवासीय छात्रवृत्तिसँगै पाठ्यपुस्तक, पोसाक, शैक्षिक सामग्री, आवास र खाना उपलब्ध गराइनेछ। मन्त्रालयका सहसचिव श्रीप्रसाद भट्टराईले तथ्याङ्कका आधारमा प्राथमिकता निर्धारण गरी छात्रवृत्ति कार्यक्रम कार्यान्वयन गरिने बताए।
प्रारम्भिक विवरणअनुसार रसुवा, नुवाकोट र धादिङका १९ विद्यालय बाढीले क्षतिग्रस्त भएका छन्। १६ शिक्षक र २१७ विद्यार्थी सम्पर्कविहीन छन्। नौ हजार ७४२ विद्यार्थीको सिकाइ प्रभावित भएको छ।
