नुवाकोटको विदुर नगरपालिका–३ सिर्खालीमा गत भदौ १० गतेको भोटेकोशी बाढीले बगाएको महिलाको शवबाट सुनका गहना चोरी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय नुवाकोटले चार दिनअघि सिर्खालीबाटै उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा बिदुर नगरपालिका–३ का दिपेश भुजेल, सुरेश रिमाल, दिनेश पण्डित, निराजन थापामगर र राजेश रिमाल छन्। जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) एक्वाल हवारीले पक्राउ परेका पाँचै जनामाथि ती महिलाको शवबाट सुनका गहना निकालेको आरोपमा अनुसन्धान भइरहेको बताए।
जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धानलाई अगाडि बढाएको छ। प्रहरीले अनुसन्धान थालिरहँदा उनीहरूलाई छुटाउन केही राजनीतिक दलका नेताहरूले दबाब दिएको पनि बुझिएको छ।
यसअघि भोटेकोशी बाढीपछि चितवनमा पनि शवबाट गहना चोरी भएको थियो। गत भदौ ११ गते चितवनको भरतपुर महानगरपालिका–१ पोखरा बसपार्क क्षेत्रबाट शवबाट गहना झिक्ने मदन गुरुङ र उमेश चौधरी पक्राउ परेका थिए।
गत भदौ १० को बाढीपछि नुवाकोटमा शव भेटिने क्रम जारी छ। नेपाल प्रहरीका अनुसार विदुर नगरपालिका–३ मा भोटेकोशी बाढीमा मृत्यु भएकी महिलाको शव भेटिएको थियो।
