सुनसरीको रामधुनी नगरपालिकामा शनिबार जलवायु न्याय र न्यायोचित क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गरिएको छ। जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको गम्भीर असर भोगिरहेको भन्दै नागरिक समाज र स्थानीय अगुवाले प्रदर्शनको नेतृत्व गरेका थिए।
रामधुनीको झुम्का बजार क्षेत्रमा आयोजित र्यालीमा विभिन्न सङ्घसंस्था, सामाजिक अभियन्ता र विद्यार्थी सहभागी थिए। र्याली कोणसभामा परिणत भयो। सहभागीले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका बाढी, डुबान, पहिरो, अनियमित वर्षा र तापक्रम वृद्धिलगायतका असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए।
नेपाल-चीन सीमा क्षेत्रको भोटेकोशी नदीमा आएको भीषण हिमबाढीबाट भएको जनधनको क्षतिलाई जलवायु परिवर्तन तथा वातावरणीय जोखिमसँग जोडियो। प्रभावित समुदायप्रति न्याय हुनुपर्नेमा जोड दिइएको थियो। प्रदर्शनकारीले ‘हामी जलवायु न्याय चाहन्छौँ’, ‘वातावरण संरक्षण गरौँ’ जस्ता नारा लगाए।
स्थानीय सुमन पौडेलले जलवायु परिवर्तनको असर स्थानीय समुदायले प्रत्यक्ष भोगिरहेको बताए। उनले भोटेकोशी हिमबाढीले जलवायुजन्य विपद्को जोखिम र क्षतितर्फ गम्भीर हुनुपर्ने सन्देश दिएको उल्लेख गरे। ‘जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि स्थानीय तहदेखि अन्तर्राष्ट्रिय तहसम्म प्रभावकारी पहल आवश्यक छ। हामीले उचित क्षतिपूर्ति पनि पाउनुपर्छ,’ पौडेलले भने।
नेपालजस्ता जलवायु परिवर्तनमा कम योगदान गर्ने मुलुकले बढी क्षति बेहोर्नुपरेको छ। पौडेलले प्रभावित समुदायका लागि जलवायु न्याय र न्यायोचित क्षतिपूर्तिको व्यवस्था गरिनुपर्ने माग दोहोर्याए।
