NM Khabar 18 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच आर्थिक सहकार्य सुदृढ पार्ने सहमति

नयाँदिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच भेटवार्ता भएको छ। दुई देशबीच आर्थिक, ऊर्जा र कनेक्टिभिटीका क्षेत्रमा सहकार्य सुदृढ पार्ने सहमति भएको छ। अर्थमन्त्री वाग्ले भारतको तीन दिने औपचारिक भ्रमणमा छन्।
Bikram Magar
Bikram Magar
18 September 2026, 7:33 pm १ मिनेट पढाइ
आकार:
अर्थमन्त्री वाग्ले जयशंकर भेट
Share:

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री जयशंकरबीच आर्थिक सहकार्य सुदृढ पार्ने सहमति

नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गरेका छन्। शुक्रबार नयाँदिल्लीमा भएको भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार तथा लगानी प्रवद्र्धनलगायतका विषयमा छलफल भएको छ।

भारतीय विदेशमन्त्री जयशंकरले ट्वीटमार्फत भेटवार्ताको जानकारी दिँदै नेपालको अर्थमन्त्री वाग्लेसँग भेट्न पाउँदा खुसी लागेको बताएका छन्। उनले हालै आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गरेका छन्। विशेषगरी आर्थिक, ऊर्जा र कनेक्टिभिटीका क्षेत्रमा नेपाल–भारत सहकार्य सुदृढ पार्ने उपायबारे छलफल भएको उनले उल्लेख गरेका छन्।

अर्थमन्त्री वाग्ले भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका छन्। भ्रमणका क्रममा उनले भारतीय समकक्षी अर्थमन्त्रीसँग पनि भेटवार्ता गरिसकेका छन्।

यसैबीच, अर्थमन्त्री वाग्लेले नयाँदिल्लीस्थित इन्डिया इन्टरनेसनल सेन्टर (आईआईसी) मा आयोजित उच्चस्तरीय कूटनीतिक गोलमेच छलफलमा पनि सहभागिता जनाएका छन्। उक्त छलफलमा भारतका पूर्व विदेश सचिव श्यामशरण, भारतीय राष्ट्रिय कांग्रेसका नेता जयराम रमेश, पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेनन र पूर्व उपराष्ट्रिय सुरक्षा सल्लाहकार पंकज सरन सहभागी थिए।

अर्थमन्त्री वाग्लेको भारत भ्रमणका क्रममा आगामी दिनमा ऊर्जा र कनेक्टिभिटी क्षेत्रमा संयुक्त परियोजनाहरु अगाडि बढाउने विषयमा थप छलफल हुने अपेक्षा गरिएको छ।

Bikram Magar

Bikram Magar

संवाददाता · NM Khabar

विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्‍याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।

सम्बन्धित समाचार