मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

रसुवा बाढी: राज्यको बेवास्ताले जुम्लाका १० परिवारले कुशको शव बनाएर गरे सामूहिक अन्त्येष्टि

रसुवाको बाढीमा बेपत्ता भएका जुम्लाका १० जनाको परिवारले राज्यले पत्ता लगाउन नसकेपछि कुशको शव बनाएर सामूहिक दाहसंस्कार गरेका छन्। गत भदौ १० गते रसुवाको टनेल नम्बर २१६ बाट उनीहरू बेपत्ता भएका थिए। जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार रसुवा बाढीमा जुम्लाका कूल ६३ जना नागरिक अझै बेपत्ता छन्।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
रसुवा बाढी जुम्ला बेपत्ता
Share:
१०९

रसुवाको बाढीमा बेपत्ता भएका जुम्लाका १० परिवारले राज्यले पत्ता लगाउन नसकेपछि कुशको शव बनाएर सामूहिक दाहसंस्कार गरेका छन्। गत भदौ १० गते रसुवामा आएको बाढीका क्रममा टनेल नम्बर २१६ बाट उनीहरू बेपत्ता भएका थिए।

तीन साता बित्दा पनि राज्यले आफ्ना नागरिक बेपत्ता भएको अवस्थाबारे कुनै जानकारी दिन नसकेपछि पातारासी गाउँपालिका-५ माथिल्लो लोर्पा गाउँका १० जनाको परिवारले हार मानेर अन्तिम संस्कार गरेका हुन्। परिवारले खोजी र उद्धारको आशमा दिन गनेर बसेका थिए।

तर, आफन्तको कुनै अत्तोपत्तो नलागेपछि र उनीहरू जीवित छन् वा छैनन् भन्ने यकिनसमेत राज्यले गर्न नसकेपछि हिन्दु परम्पराअनुसार कुशलाई शवको प्रतीक मानेर परिवारले सामूहिक रूपमा दाहसंस्कार गर्न बाध्य भएको हो।

विज्ञापन

स्थानीय युवा अगुवा रमन बुढाका अनुसार बेपत्ता भएको लामो समय बितिसक्दा पनि राज्यले उनीहरूको अवस्था पत्ता लगाउन नसक्दा परिवारको पीडा झनै गहिरिएको छ। ‘हामीले हाम्रा मान्छे खोजिदिन पटकपटक आग्रह गर्‍यौं। तर न सासको खबर आयो, न लास पाइयो,’ उनले भने, ‘अन्ततः कुर्दाकुर्दै आश मरेपछि कुशको शव बनाएर अन्तिम संस्कार गर्न बाध्य भयौं।’

जिल्ला प्रशासन कार्यालय जुम्लाको तथ्यांकअनुसार रसुवाको बाढीमा परी पातारासी गाउँपालिकाका मात्रै ४९ जना अझै बेपत्ता छन्। जसमध्ये माथिल्लो लोर्पाका १० (शनिबार अन्त्येष्टि गरिएका), तल्लो लोर्पाका ४, लाम्रीका १५, तिर्खुका ९, जम्नाका २, तल्फीका १ र बाता गाउँका ८ जना सम्पर्कविहीन छन्।

यस्तै, चन्दननाथ नगरपालिकाका-४, सिंजा गाउँपालिकाका १ र गुठीचौर गाउँपालिकाका ९ जनासमेत गरेर जुम्ला जिल्लाका कूल ६३ जना नागरिक अझै बेपत्ता रहेको प्रशासनको विवरणमा उल्लेख छ।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार