सघन सहरी तथा भवन निर्माण आयोजना, धनकुटाका इन्जिनियर सुमन राई, लेखा अधिकृत इन्द्रबहादुर कार्की र सब–इन्जिनियर रविन श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरूले भोजपुरस्थित एक विद्यालयको नयाँ भवन निर्माणको अन्तिम बिल भुक्तानी प्रक्रिया अघि बढाउन सेवाग्राहीसँग १ लाख ३५ हजार रुपैयाँ घुस मागेको आरोप छ।
आयोगले विशेष अदालत, काठमाडौंमा दर्ता गरेको मुद्दाअनुसार, मागिएको रकममध्ये ५० हजार रुपैयाँ सब–इन्जिनियर श्रेष्ठको बैंक खातामा क्यूआरमार्फत जम्मा भएको थियो। बाँकी ८५ हजार रुपैयाँ इन्जिनियर राईले नगद बुझेका थिए।
घुस रकम बुझ्दै गर्दा अख्तियारको टोलीले इन्जिनियर राईलाई ललितपुरबाट नियन्त्रणमा लिएको थियो। त्यस्तै, लेखा अधिकृत कार्की र सब–इन्जिनियर श्रेष्ठलाई क्रमशः धनकुटा र भोजपुरबाट पक्राउ गरिएको थियो।
अनुसन्धानमा तत्कालीन कर्मचारीहरूले अन्तिम बिल भुक्तानीमा विभिन्न प्राविधिक समस्या देखाउँदै सेवाग्राहीलाई हैरानी दिएको भेटिएको आयोगले जनाएको छ। उनीहरूले आपसमा रकम बाँडीचुँडी लिने सहमति गरेको पनि अनुसन्धानबाट खुलेको छ।
यसरी १ लाख ३५ हजार रुपैयाँ घुस लिएको तथा लिन लगाएको आरोपमा तीनै जनालाई प्रतिवादी बनाइएको छ। यो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर ठहरिने आयोगको दाबी छ। आयोगले उनीहरूबाट १ लाख ३५ हजार रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागदाबी गरेको छ।
