सङ्खुवासभा सदरमुकाम खाँदबारी–तुम्लिङटार सभाखोला सडकखण्ड दैनिक नौ घण्टा यातायातका लागि बन्द गरिएको छ। सडक डिभिजन कार्यालय तुम्लिङटारका निमित्त प्रमुख इन्जिनियर मनोजकुमार मण्डलका अनुसार करिब १७ किलोमिटर कालोपत्रे सडक मर्मत तथा चौडा गर्न यातायात बन्द गरिएको हो।
कार्यालयले दिएको जानकारी अनुसार, असोज ६ गतेदेखि असोज ३० गतेसम्म उक्त सडकखण्डमा यातायात सञ्चालनमा रोक लगाइएको छ। यातायात बिहान ८:०० बजेदेखि १२:०० बजेसम्म र दिउँसो १:०० बजेदेखि साँझ ६:०० बजेसम्म बन्द रहनेछ।
निर्माण कम्पनीको आग्रहमा समयमै काम सम्पन्न गर्नका लागि यातायात बन्द गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ। निषेधित समयमा यात्रु तथा सवारी साधनलाई वैकल्पिक सडक प्रयोग गर्न सूचित गरिएको छ। सडक मर्मत तथा स्तरोन्नतिको कार्य सम्पन्न गर्नका लागि यो निर्णय गरिएको हो।
