गृहसचिव केदारनाथ शर्माले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग भारी वर्षा र त्यसबाट उत्पन्न जोखिमबारे पूर्वतयारीको छलफल गरेका छन्। छलफलमा सम्भावित वर्षाको अवस्था, जोखिमयुक्त जिल्लामा सतर्कता, सूचना प्रवाह र सवारी आवागमन नियन्त्रणका विषयमा कुराकानी भयो।
गृह मन्त्रालय, मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखा, तीन सुरक्षा निकाय, पर्यटन बोर्ड र यातायात व्यवसायी महासंघका प्रतिनिधि सहभागी थिए। काठमाडौं बाहेकका सिडिओहरू भर्चुअल माध्यमबाट जोडिएका थिए।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले जोखिम क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरे। उनले पूर्वतयारी र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिए।
स्वास्थ्य मन्त्रालयले पनि भारी वर्षाको चेतावनीका कारण अस्पताल र स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। बाढी, पहिरो र प्राकृतिक विपद्ले दुर्घटना, चोटपटक र जनस्वास्थ्यमा असर पार्ने भन्दै मन्त्रालयले आकस्मिक स्वास्थ्य सेवा तयारी राख्न भनेको हो।
स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाई (एचईडीएमयू)ले विज्ञप्ति जारी गरी जनशक्ति, औषधि र उपचार सामग्री तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। विपद्मा घाइते र बिरामीको संख्या बढ्न सक्ने भएकाले आकस्मिक सेवाको निरन्तरता सुनिश्चित गर्न भनिएको छ।
विपद् सिर्जना भएमा संघीय र प्रदेशस्तरका स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रसँग समन्वय गरी व्यवस्थापन गर्न मन्त्रालयले अस्पताललाई आग्रह गरेको छ।
