NM Khabar 23 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मधेस प्रदेशमा लाइसेन्स छपाइ सुरु: जनकपुर कार्यालयबाट ३ हजार ८१ लाइसेन्स वितरण

मधेस प्रदेश सरकारले आफ्नै पहलमा सवारी चालक अनुमतिपत्र छपाइ सुरु गरेको छ। श्रम तथा यातायात मन्त्रालयले ३ हजार ८१ थान लाइसेन्स यातायात कार्यालयहरूलाई हस्तान्तरण गरेको छ। अब ट्रायल पास गरेकाहरूले एक हप्ताभित्र लाइसेन्स पाउने अपेक्षा गरिएको छ।
Kamala Devi
Kamala Devi
23 September 2026, 7:33 pm १ मिनेट पढाइ
आकार:
मधेस लाइसेन्स छपाइ
Share:

मधेस प्रदेश सरकारले आफ्नै मातहत छपाइ गरिएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बुधबार यातायात कार्यालयहरूलाई हस्तान्तरण गरेको छ। प्रदेशको श्रम तथा यातायात मन्त्रालयले पत्रकार सम्मेलन गरी प्रदेशभरिका विभिन्न कार्यालयबाट माग अनुसार छपाइ गरिएका ३ हजार ८१ थान चालक अनुमतिपत्र वितरण गरेको हो।

मन्त्री शारदा थापाले जनकपुर कार्यालयका प्रमुख वासुदेव मल्ललाई अनुमतिपत्र हस्तान्तरण गर्दै प्रदेश सरकारकै अग्रसरतामा सुरक्षण मुद्रण केन्द्रबाट छपाइ गरिएका लाइसेन्स वितरण सुरु भएको बताइन्। उनले मधेस प्रदेशले यस काममा अन्य प्रदेशभन्दा अग्रता लिएको उल्लेख गरिन्।

उनका अनुसार, छपाइ गरिएका चालक अनुमतिपत्र स्थानीय तहसँग सहकार्य गरी वडासम्म पुर्‍याएर जनताको घरदैलोमै वितरण गर्ने तयारी भइरहेको छ। मन्त्रालयका सचिव रंजित यादवले अब ट्रायल पास गरेकाहरूले एकहप्ता भित्र आफ्नो लाइसेन्स पाउने ठोकुवा गरे। विगतमा संघीय सरकार मातहत छपाइमा जाँदा समय लाग्ने गरेकोमा अब प्रदेश आफैंले संख्या तोकेर प्रिन्ट पठाउने भएकाले छिटो हुने उनको भनाइ छ।

यातायात कार्यालय जनकपुरका प्रमुख बासुदेव मल्लले प्रदेश सरकारबाटै छपाइको काम सुरु भएकाले सेवाग्राहीलाई अब कठिनाइ नहुने बताए। उनले हाल १ महिनाभित्र लाइसेन्स वितरण गरिरहेकोमा अब ट्रायल पास भएको १ हप्ताभित्रै उपलब्ध गराउन सक्ने दाबी गरे।

मन्त्रालयले राजविराज सप्तरीलाई ५२ थान, लहान सिरहालाई ४६० थान, बर्दिबास महोत्तरीलाई ३०३ थान, जनकपुरलाई ९३२ थान, मलंगवा सर्लाहीलाई ३२ थान, गौर रौतहटलाई ११९ थान, कलैया बारालाई ११ थान र वीरगंज पर्सालाई १ हजार १७२ थान चालक अनुमतिपत्र पठाएको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार